काठमाडौं । जेनजी कर्णालीले मन्त्रिपरिषद् विस्तारसम्बन्धी मिडिया समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केही सञ्चारमाध्यममा टासी ल्हाजोमलाई कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै अन्तरिम मन्त्रिपरिषद्को सदस्य बनाइने खबर सार्वजनिक भएपछि समूहले विज्ञप्ति जारी गर्दै उक्त निर्णय पुनर्विचार गर्न सरकारसँग माग गरेको छ ।

विज्ञप्तिमा टासी ल्हाजोमको नेपाली नागरिकताबारे तत्काल छानबिन गर्नुपर्ने माग गरिएको छ । समूहले ल्हाजोमको ‘फ्री तिब्बत’ अभियानसँगको सम्भावित सम्बन्धले नेपाल–चीन सम्बन्धमा संवेदनशीलता निम्त्याउन सक्ने चेतावनी दिएको छ । साथै, उनको कर्णालीसँगको सम्बन्ध, स्थानीय मुद्दामा योगदान र दक्षताबारे पारदर्शी विवरण मागिएको छ ।
प्रधानमन्त्री र सल्लाहकार सुमना श्रेष्ठसँग उनको सम्भावित व्यक्तिगत वा व्यावसायिक निकटताबारे पनि स्पष्टीकरण आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ । जेनजी कर्णालीले ल्हाजोमको विदेशी संस्था वा अन्तर्राष्ट्रिय निकायसँगको सम्भावित सम्बन्धमाथि पनि छानबिन गर्न आग्रह गरेको छ । संयोजक सुप्रिया शाले हस्ताक्षर गरेको विज्ञप्तिमा कर्णालीको प्रतिनिधित्वबारे समूहसँग छलफल वा सहमति नभएको नियुक्ति अस्वीकार्य रहेको बताइएको छ । समूहले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमाथि भएको सरकारी दमनको निन्दा गर्दै त्यसलाई ‘कालो दिन’को संज्ञा दिएको छ ।
उनीहरूले आन्दोलनका घाइतेहरूलाई उचित उपचार, पुनर्स्थापना र न्यायको माग गरेका छन् । उनीहरुले सरकारले स्वतन्त्र र पारदर्शी छानबिन गरी जनभावनालाई ध्यानमा राखेर निर्णय गर्नुपर्ने, अन्यथा उत्पन्न परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएका छन् ।











