Logo
Logo

राउटे समुदायका युवा भन्छन्- रातको समय हामीलाई सुरक्षा चाहियो


315
Shares

भेरीगङ्गा (सुर्खेत) । राउटे समुदायमा त्रास सृजना गर्ने एक युवालाई राउटे समुदायका युवाहरूले यही असोज २४ राति नियन्त्रणमा राखे । सुर्खेतको लेकबेँसी नगरपालिकाका ती युवकले मदिरा सेवन गरी रातिका समय राउटेबस्तीमा छिरेका थिए । शनिबार बिहान ती समुदायका युवाहरूले नजिकैको प्रहरीलाई खबर गरी ती युवालाई प्रहरीको जिम्मा लगाएका थिए । त्रास सिर्जना गर्ने युवाकलाई आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मोहनजङ्ग बुढ्थापाले जानकारी दिए ।

पछिल्लो समय बाह्य व्यक्तिहरूको अनाधिकृत प्रवेशले राउटे समुदायले असुरक्षित महसुस गर्न थालेका जनाइएको छ । आफ्नै जीवन्त रीतिरिवाज र वेशभूषामा जङ्गलमा बस्दै आएका उनीहरुका बस्तीमा जथाभावी बाह्य व्यक्तिहरूको प्रवेशले असुरक्षित बन्न थालेका हुन् । विभिन्न बहानामा राउटे बस्तीमा जाने र त्यहाँ विभिन्न अवाञ्छित क्रियाकलाप गर्ने प्रवृत्ति बढेको उनीहरुको भनाइ छ ।

कर्णालीका विभिन्न ठाउँमा फिरन्ते रूपमा जीवन बिताउँदै आएका राउटे समुदाय माथि केही वर्ष अगाडि पनि अवाञ्छित काम गर्ने केही व्यक्तिलाई प्रहरीले कारबाही गरेको थियो । राउटे समुदायका युवा दीपक शाही भन्छन्, ‘बाहिरबाट बिनाकाममा बस्तीभित्र आउने गर्दा आफूहरूलाई असहजता बनाएको छ । रातिमा बस्तीभित्र बाहिरका मानिस आउन थालेपछि झनै असुरक्षित हुन थालेको छ, हामीलाई सुरक्षा चाहियो । हिजोमात्र हाम्रो बस्तीमा रक्सी खाएर एक जना मान्छे आएर हल्ला गर्यो । अरु बेलामा पनि जथाभावी मानिसहरू आउँदा हामी त्रासमा छौँ ।’ उनले दिउँसोको समयमा राउटे बस्तीमा आए पनि रातको समयमा मादक पदार्थ सेवन गरेर नआउन आग्रह गरे ।

यस्तै, राउटे समुदायको रेखदेखका लागि काम गर्दै आएका सोसेकका दुर्गा खत्रीले पनि पछिल्लो समय राउटे समुदायमा सुरक्षा चुनौती थपिएको जनाउँदै बस्तीको लागि प्रहरी खटाउन आवश्यक रहेका औँल्याए । राउटे बस्तीमा प्रहरी चाहिएको अवस्था छ । उनले भने, ‘यहाँ बाहिरको मानिसहरू धेरै आउने, भिडियो बनाउनेसँगै रातिको समयमा गलत मानिसहरूको प्रवेश बढ्दै जाँदा राउटेको सुरक्षा जोखिम बढ्दो छ ।’

उनले राउटेहरूलाई भत्ताको सट्टा राशन दिनुपर्ने जनाउँदै भत्ताका रूपमा रकम दिँदा उनीहरू मदिराको लतमा फस्दै गएकाले उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको बताउनुभयो । यसले पनि राउटेहरूको सुरक्षामा चुनौती थपिएको बताए ।

प्रतिक्रिया दिनुहोस्