काठमाडौं । नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको ६ वर्ष पूरा भएको छ। भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको पाइपलाइनबाट ६ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ ।

पाइपलाइनबाट हालसम्म ६ अर्ब १४ करोड ३५ लाख लिटर डिजेल, २० करोड १५ लाख लिटर पेट्रोल र ४१ लाख लिटर मट्टितेल आयात भएको प्रादेशिक प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिए। अहिले मोतिहारीबाट पाइपलाइनमार्फत अमलेखगञ्जसम्म पेट्रोल, डिजेल र मट्टितेल आयात भइरहेको छ । २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले यो परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
सोही दिनदेखि पाइपलाइनबाट डिजेल आयात भइरहेको छ । २०८१ असोज २४ देखि पेट्रोल र २०८१ मङ्सिर १९ देखि मट्टितेल आयात थालिएको हो । दक्षिण एसियाको पहिलो अन्तरदेशीय पाइपलाइनको कुल लम्बाइ ६९.२ किलोमिटर छ, जसमा भारततर्फ ३३ किलोमिटर र नेपालतर्फ ३६. किलोमिटर छ ।
पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी ‘मल्टी प्रोडक्ट पाइपलाइन’ बनाइएको छ । पाइपलाइनबाट आयातित पेट्रोलियमले नेपालको करिब ७० प्रतिशत माग पूरा भएको छ । अमलेखगञ्जबाट काठमाडौं, विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगञ्ज, जनकपुरस्थित डिपोमा इन्धन आपूर्ति हुन्छ । अमलेखगञ्जबाट स्थानीय पम्पका लागि पनि पेट्रोलियम पदार्थ बिक्री हुन्छ ।
‘नेपालको खपतको ७० प्रतिशत पेट्रोलियम पदार्थ अमलेखगञ्जबाटै आपूर्ति हुन्छ,’ प्रमुख आचार्यले भने । पाइपलाइनबाट दैनिक ६ हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिन्छ, तर माग नबढेकाले पूर्ण क्षमतामा सञ्चालन भएको छैन । ‘दैनिक ६ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने अवस्थामा निगम पुगेको छैन,’ उनले भने ।
पाइपलाइन परियोजनाको पहिलो चरणमा मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइन बिछ्याइएको थियो । दोस्रो चरणमा अमलेखगञ्जमा भण्डारण क्षमता वृद्धि र ‘अटोमेसन’ सम्पन्न गरिएको छ । डिपोमा पेट्रोल, डिजेल र मट्टितेल भण्डारणका लागि ४ वटा नयाँ ‘भर्टिकल ट्याङ्क’ बनाइएको छ । पाइपलाइनबाट ल्याइएको पेट्रोलियमको शुद्धता कायम राख्न २ वटा ट्रान्समिक्स ट्याङ्क र अग्नि नियन्त्रण प्रणालीको व्यवस्था छ ।
अमलेखगञ्जमा भण्डारण क्षमता विस्तार गरी १७ हजार ५०० किलोलिटर पेट्रोल, २७ हजार ५०० किलोलिटर डिजेल र २ हजार २०० किलोलिटर मट्टितेल राख्न सकिन्छ । पुराना र नयाँ गरी अमलेखगञ्जमा ९४ हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिन्छ ।
मुलुकमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि २०३० मा अमलेखगञ्ज डिपो निर्माण सुरु भएको थियो । ६७ हजार ७२४ वर्गमिटरमा फैलिएको यो डिपो २०३३ माघबाट सञ्चालनमा आयो । यो देशकै ठूलो डिपो हो ।
हाल अमलेखगञ्ज डिपोमा १५ हजार ११० किलोलिटर पेट्रोल, २४ हजार ८१० किलोलिटर डिजेल र २ हजार २७० किलोलिटर मट्टितेल भण्डारण क्षमता छ । सरकारले सातै प्रदेशमा ३ महिनाको माग धान्ने भण्डारण क्षमता विस्तारको योजना अघि सारेको छ । सोहीअनुसार निगमले विभिन्न प्रदेशमा भण्डारण क्षमता विस्तारको काम अघि बढाएको छ ।
पेट्रोलियम पाइपलाइनले सडक मार्गको अवरोध हटाएको छ। ‘ट्याङ्कर दुर्घटना र सडक मार्गको समस्याको जोखिम कम भएको छ,’ प्रमुख आचार्यले भने, ‘इन्धन चोरी र मिसावटको प्रश्नै उठ्दैन।’ पाइपलाइनबाट ढुवानी गर्दा वातावरणीय प्रभाव पनि कम हुन्छ ।
पाइपलाइनले ढुवानी खर्चमा वार्षिक ३ अर्ब रुपैयाँ बचत भएको छ । यसले निगमले इन्धनको उपभोक्ता मूल्य पनि घटाएको छ ।
सिलगुडी-चारआली र अमलेखगञ्ज-लोथर पाइपलाइनलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा तोकिएको छ। अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तारको काम सुरु भएको छ । निगमले साउन १६ देखि दोस्रो चरणको पाइपलाइन विस्तारको काम थालेको हो ।
राप्ती नगरपालिका–१ लोथभरमा २३ बिघा १२ कठ्ठा जग्गामा अत्याधुनिक ग्रीन फिल्ड टर्मिनल निर्माण हुनेछ । अमलेखगञ्जदेखि लोथरसम्म ६२ किलोमिटरको १०.७५ इञ्चको पाइपलाइन बिछ्याइने छ ।
यो परियोजना ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य परियोजना प्रमुख प्रदीप यादवले बताए । पूर्वपश्चिम राजमार्गको समानान्तर पाइपलाइन निर्माण हुनेछ । ६२ किलोमिटर लामो पाइपलाइनमा सधैं ३२ सय किलोलिटर इन्धन भण्डारण हुनेछ । पाइपलाइनबाट प्रतिघण्टा २७३ किलोलिटर तेल आपूर्ति गर्न सकिन्छ ।
पाइपलाइनबाट वार्षिक २० मिलियन टन इन्धन ढुवानी गर्न सकिन्छ । लोथभरमा १६० वर्गमिटरको पाइपलाइन स्टेसन निर्माण हुनेछ ।
लोथभरमा पेट्रोल भण्डारणका लागि ११ हजार किलोलिटर क्षमताका ३ वटा भर्टिकल ट्याङ्क, डिजेलका लागि १५ हजार ५०० किलोलिटर क्षमताका ३ वटा र मट्टितेलका लागि ८०० किलोलिटर क्षमताका २ वटा ट्याङ्क निर्माण हुनेछ । हवाई इन्धनका लागि ३ हजार ६०० किलोलिटर क्षमताका ३ वटा ट्याङ्क बनाइनेछ । लोथरको नयाँ डिपोमा ९१ हजार ९०० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण हुनेछ । २ वटा ट्रान्समिक्स ट्याङ्क पनि बनाइनेछ । पाइपलाइन र भण्डारण गृह निर्माणको लागत १४ अर्ब ९ करोड ६० लाख अनुमान गरिएको छ ।











