
विगत डेढ दशकदेखि सौन्दर्यकला व्यवसायमा सक्रिय सौन्दर्यविद् स्मृति महर्जनले ज्ञान र सिप अरूलाई पनि बाँड्दै आएकी छिन् । हालसम्म पाँच सयभन्दा बढीलाई सीप सिकाइसकेकी महर्जन भन्छिन्, ‘अहिलेको जमानामा सबै आत्मनिर्भर बन्नुपर्छ । त्यसैअनुरुप नारीहरूलाई सिप सिकाउँदै आएकी छु ।’ हालै मात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त इन्स्टिच्युटबाट कपाल र मेकअपको मास्टर लेभलको कोर्स गरेर आएकी उनी आफ्नै नाममा स्मृति ब्यूटी एकेडेमी सञ्चालन गर्दै आएकी छिन् । यिनै सौन्दर्यकर्मी स्मृति महर्जनसँग दृष्टिको जम्काभेट ।
हाल केमा व्यस्त हुनुहुन्छ ?
अहिले मैले सञ्चालन गरिरहेको समृति ब्यूटी एकेडेमीमै व्यस्त छु । सौन्दर्य कलामा रुचि राख्ने व्यक्तिहरूलाई ज्ञान प्रदान गरिरहेकी छु । हातमा सीप भयो भने स्वावलम्बी बन्न सकिन्छ । यही कर्मथलोलाई अगाडि बढाउँदैछु ।
घरपरिवारको सहयोग कतिको छ ?
आज म जुन स्थानमा छु, यो मेरो परिवारले दिएको साथकै कारण हो । श्रीमानको साथ, सपोर्ट र हौसलाले नै म आफूलाई चिनाउन पाउँदा भाग्यमानी ठानेकी छु । उहाँको मिहेनत ममाथि नभएको भए आज यो स्थान हासिल गर्न सक्दिनँ थिएँ होला । सानो पार्लरबाट एकेडेमीको यात्रा तय गरेकी छु ।
हालैमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त कोर्स गरेर आउनुभएको छ । कस्तो रह्यो सिकाइहरू ?
१० दिने कपाल र शृङ्गारको एडभान्स कोर्स गरेर आएकी छु । आफूले प्राप्त गरेको ज्ञानभन्दा धेरै भिन्न पाएँ । हातको प्रयोगभन्दा मेसिन बढी प्रयोग हुँदोरहेछ । गुरूहरूबाट नयाँ नयाँ टेक्निक सिक्ने अवसर पाएँ । आफूले सिकिरहेको टेक्निकभन्दा फरक पाएँ । यसरी अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्दा हौसला र जीवनमा सिक्नुपर्ने धेरै रहेछ भन्ने महसुस भयो । सिक्ने र सिकाउने क्रम जारी रहनेछ ।
महिलाहरू आत्मनिर्भर हुन किन आवश्यक छ ?
हिजोका दिनहरूभन्दा आजको महिला दिदीबहिनीहरू धेरै फरक भइसक्नुभएको छ । पुरुष प्रधान समाजमा महिलाहरूको पनि आत्मनिर्भर भएर आफैं व्यवसाय चलाउँदै आइरहनुभएको छ । घरदेखि अफिससम्म सक्षम छन् आजका नारीहरू । सबैजना आत्मनिर्भर रहनुपर्छ । आज महिलाहरू राजनीतिमा, अफिसको प्रमुखदेखि व्यवसायसम्म सफलता हासिल गरिरहेका छन् । आत्मनिर्भर भए कसैको आस र भरोसामा बस्नु पर्दैन । आत्मनिर्भर बन्नुमै छ मज्जा ।
समाजले सौन्दर्य व्यवसायीलाई हेर्ने नजर कतिको फरक भएको छ ?
हिजोको दिनलाई सम्झिने हो भने सौन्दर्यलाई पेशाको रूपमा स्वीकार्न निकै असहज थियो । आज धेरैजना यस पेशामा आकर्षित भएका छन् । सबैजनाले यसमा आफ्नो भविष्य खोज्ने सोच बनाएर हिँडेका हुन्छन् । आज यसलाई सम्मानित पेशाको रुपमा लिने गरिन्छ ।
सौन्दर्यलाई करिअरको रूपमा लिन सकिन्छ कि सकिँदैन ?
आज धेरैजना दिदीबहिनीहरू सान्दर्य कला कोर्स गरेर आफ्नो जीविका चलाइरहनुभएको छ । पढेर र बुझेर आयो भने पक्कै लामो समयसम्म टिक्न सकिन्छ । आज धेरै जनाले यसलाई आफ्नो करिअरको रुपमा पनि स्थापित गरिसकेका छन् । यदि, यस क्षेत्रमा भविष्य नहुने हो भने यसमा आकर्षित नै हुने थिएनन् ।
पछिल्लो समयमा स्कुलमा पनि सौन्दर्यकला कोर्स सञ्चालन हुँदै आइरहेको छ ? यसलाई कसरी लिनुहुन्छ ?
अहिले स्थानीय तहले किताबमुक्त दिन भनेर छुटाएका हुन्छन । जहाँ सृजनात्मक कार्यहरू सञ्चालन भइरहेको हुन्छ । जसमध्ये पछिल्लो समयमा इच्छुक विद्यार्थीहरूले ब्यूटी कोर्स पनि लिँदै आइरहेका छन् । यस्तो कक्षाले जीवनमा ठूलो भूमिका खेलेको हुन्छ । यसले स्वआर्जनका लागि पनि मद्दत पु¥याउँछ । विद्यार्थीहरू यस कोर्समा निकै नै लाभान्वित भएका हुन्छन् । म पनि स्कुलमा श्रृंगार सम्बन्धी तालिमहरू दिँदै आइरहेकी छु ।
श्रृंगार क्षेत्रमा भविष्य खोज्ने युवा वर्गलाई के भन्न चाहनुहुन्छ ?
कुनै पनि क्षेत्रमा अगाडि बढ्नुभन्दा अगाडि त्यससम्बन्धी राम्रो ज्ञानको दखल हुन आवश्यक छ । राम्रो गुरुको चयन, राम्रो इन्स्टिच्युट, अनुशासित, मिहेनती हुन निकै आवश्यक छ । कठिन भयो भनेर बीचमै छोड्नु राम्रो होइन । आज श्रृङ्गार पेशालाई नै लिएर राम्रो आम्दानी गर्न सकिन्छ । निकै धैर्यताको आवश्यकता रहन्छ । आज यस पेसाबाट लाखौंलाख कमाउने व्यक्तिहरू पनि छन् । हरेक काममा लगाव लगाएर हिँड्न सक्यो भने पक्कै गन्तव्य सफल रहनेछ ।
अन्त्यमा युवाहरूलाई के भन्न चाहनुहुन्छ ?
जीवनलाई सहज बनाउने हो भने हातमा सीप बोक्नु आवश्यक छ । सिपले नै आत्मनिर्भर बनाउँछ । मेहनत र अनुशासन जीवनको लागि निकै नै आवश्यक पर्छ । व्यर्थ समय फालेर समय बिताउनुभन्दा केही ज्ञान प्राप्त गर्दा आफूले सोचेको लक्ष्य प्राप्त गर्न सकिन्छ ।











