Logo
Logo

कस्ताे रहला लक्ष्मीपूजादेखि भाइटीकासम्मको मौसम ?


378
Shares

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले तिहार अवधिका लागि विशेष मौसम बुलेटिन जारी गरेको छ ।महाशाखाका अनुसार यस वर्ष तिहारको समयमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य असर रहनेछ ।

सो प्रभावका कारण देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने र एक–दुई स्थानमा फाटफुट वर्षा हुन सक्ने जनाइएको छ । साथै, उच्च हिमाली भूभागका केही भागमा हल्का वर्षा वा हिमपातको समेत सम्भावना छ ।

कार्तिक ३ गते लक्ष्मीपूजाको दिन देशका अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ । तर कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भने आंशिक बदलीसँगै एक–दुई स्थानमा फाटफुट वर्षा हुन सक्छ ।

औँसीका दिन कार्तिक ४ गते पनि यस्तै मौसम रहँदै पहाडी क्षेत्रमा आंशिक बदली र अन्य स्थानमा सफा मौसम रहनेछ ।

कार्तिक ५ गते गोवर्धन पूजाका अवसरमा पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने र कोशी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

भाइटीका अर्थात् कार्तिक ६ गते देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहने भए पनि कोशी, मधेश र अन्य पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । साथै, सबै प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले तिहारका दिनहरूमा सामान्य बदली र हल्का वर्षाको सम्भावना रहे पनि समग्रमा मौसम मनमोहक रहने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्