काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गङ्गा दाहालले पार्टी सचिवालयबाट राजीनामा दिएकी छन् ।

सोमबार दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गरेकी हुन् । उनले निरन्तर आफूलाई निशाना बनाएर प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेको भन्दै सचिवालयको जिम्मेवारी छोडेको बताएकी छन् ।
फेसबुक पोस्टमा दाहालले लेखेकी छन्, ‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र) का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेका कारण यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिनु नै बुवा, पार्टी र आन्दोलनका लागि राम्रो होला भन्ने निष्कर्षमा पुगेर राजीनामा दिएको छु ।’
उनले पार्टीको जिम्मेवार कार्यकर्ताका रूपमा आजीवन क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेकी छन् । साथै, सचिवालयमा रहँदा नेता, कार्यकर्ता र आमनागरिकबाट प्राप्त सहयोगप्रति हार्दिक धन्यवाद पनि दिएको छिन् ।














