Logo
Logo

स्थानीय गाईको संरक्षण गर्दै वागीश्वरीमा गौ तथा गोवर्द्धन पूजा


252
Shares

चितवन । श्रीवागीश्वरी आध्यात्मिक परिषद्अन्तर्गत योगी नरहरिनाथ आश्रम गौ संरक्षण केन्द्र, वागीश्वरी (भरतपुर) मा आज गाई तथा गोवर्द्धन पूजा गरिएको छ । विगतका वर्षहरूझैँ यस वर्ष पनि तीनदिनसम्म सामूहिक रूपमा गौ पूजन कार्यक्रम सञ्चालन गरिएको हो । 

The current image has no alternative text. The file name is: puja.jpg

आज अन्तिम दिन गाई तथा गोवर्द्धन पर्व मनाउँदै विशेष पूजा गरिएको आश्रमका अध्यक्ष अशोक पोखरेल शर्माले जानकारी दिनुभयो । उनका अनुसार वागीश्वरीमा विसं २०६३ देखि स्थानीय गाईको संरक्षण गर्ने उद्देश्यले सामूहिक रूपमा गौ पूजनको परम्परा सुरु गरिएको हो । यस अवसरमा स्थानीय जातका गाईको गोबरबाट निर्मित गोवर्द्धन पर्वत निर्माण गरी पूजाआजा गरिनुका साथै भक्तजनले गाईको पूजा गरेका उनले जानकारी दिए।

अध्यक्ष शर्माले भने, ‘गाउँघरमा विकासको नाममा स्थानीय गाई हराउँदै गएका छन्, तर वागीश्वरीमा भने संरक्षण गरिएका गाईहरूको गोबरबाट पर्वत बनाएर पूजन गरिएको छ ।’ उनका अनुसार आजको पूजामा भक्तजनहरूको उल्लेख्य उपस्थिति थियो । गाईलाई पूजा गरी आहारदान दिने भक्तजनको घुइँचो लागेको छ ।
 
देवघाटधाम प्रवेश मार्गमा अवस्थित यस केन्द्रमा हाल २०८ वटा स्थानीय जातका गाई, गोरु, बाछाबाछीको संरक्षण गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । केन्द्र दाताको सहयोगमा सञ्चालन भइरहेको छ भने मासिक करिब रु पाँच लाख खर्च हुने गरेको अध्यक्ष शर्माले जानकारी दिए । ‘हाल केन्द्रमा रु एक करोडको अक्षयकोष भए पनि यसले मात्र पुग्दैन, दाताहरूको निरन्तर सहयोग आवश्यक छ’, उनले भने ।
 
गौ संरक्षण केन्द्रको सुरुवात विसं २०४३ मा योगी नरहरिनाथले माडीबाट सात वटा गाई ल्याई कोटीहोम सञ्चालन गरेसँगै भएको थियो । अहिले यहाँ गाईको सङ्ख्या बढेर २०८ पुगेको छ । यहाँ पालिएका सबै गाईहरू स्थानीय जातका छन् । अध्यक्ष शर्माले स्थानीय जातका गाई संरक्षणका लागि सबैको सहयोग र समन्वय आवश्यक पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्