काठमाडौं । गत २३ भदौमा जेन–जी प्रदर्शनका दिन गीता साह कोटेश्वरस्थित घडी पसलमा थिइन्। माइतीघरबाट सुरु भएको प्रदर्शन कोटेश्वरसम्म आउला, प्रदर्शन भड्किएला र त्यसको घानमा आफू परिएला भन्ने उनको मनमा थोरै पनि आशङ्का थिएन । तर, भइदियो त्यस्तै ।

सप्तरीकी ४८ वर्षीया साहको पसल कोटेश्वर प्रहरी चौकी छेउमै छ। एउटा ठूलो भिड कोटेश्वरतिर आइसकेपछि उनी हेर्न बाहिर निस्किइन् । हेर्दाहेर्दै प्रदर्शन चर्किंदै गयो । कताकताबाट आएको पेट्रोलसहितको आगो उनको शरीरमा सल्कियो। उनलाई उद्धार गरेर कान्तिपुर अस्पताल पुर्याइयो । त्यहाँ पनि आन्दोलनकारीको भिड भएकाले सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) लगियो । त्यसयता उनी त्यही अस्पतालमा उपचाररत छिन् ।
केएमसीको प्लाष्टिक सर्जरी पोष्ट अपरेटिभ वार्डको बेड नं २४४ मा उपचाररत गीता को शरीरको १८ प्रतिशत भाग जलेको छ । कम्मरमुनि र दायाँ हातमा बढी असर छ ।अस्पतालको शय्यामा सुतिरहनुपर्दा उनमा पीडा थपिएको छ। घाउ चहर्याउँदा उनी घरीघरी चिच्याउँछिन् ।
सबैभन्दा नरमाइलो त उनलाई दसैँमा भएको थियो। अस्पतालको बेडमै रहँदा दसैँको रौनक आयो, गयो । तिहारअघि त डिस्चार्ज हुन्छु कि भन्ने थियो। तर उनलाई चिकित्सकले निगरानीमै राखेको छ ।
‘बाहिर तिहारको झिलिमिली, रङ्गीचङ्गी छ । सबैमा उत्साह र रौनक छ, तर म दशैंतिहार नै अस्पतालको शय्यामा बिताउन बाध्य भएँ,’ उनी भन्छिन् ।
यस्तो बेला उनलाई विगतका दशैं र तिहारको झझल्को नआउने होइन । हरेक वर्ष उनी तिहारमा घर–पसल सजाउँछिन् । तिहारले बेग्लै खुसीयाली दिन्थ्यो । यसपालि भने उनको घर सजिएन ।
‘मनमा उत्साह नै नभएपछि घर सजाउनुको के अर्थ भयो र,’ निराश हुँदै उनले भनिन्, ‘डेढ महिना पुग्न लागिसक्यो । अस्तपालको बेडमै बस्दाबस्दा म थाकिसकेकी छु ।’
उनी अस्पतालमा भएपछि छोरा राहुलले पसल रेखदेख गरिरहेका छन् । ‘छोरा विदेश जाने तयारीमा थियो । म नै अस्पताल भर्ना भएपछि अब उसको के हुने हो टुङ्गो छैन,’ उनले सुनाइन् ।
केएमसीकै हाई केयर युनिटमा छन्, काभ्रेका २७ वर्षीय कमल घिमिरे। उनका आमाबुबा भक्तपुरको राधेराधेमा गाई फार्म चलाउँछन् । आमाबुबालाई सघाउँदै आएका कमल सदाझैं २३ भदौमा दूध पुर्याउन बानेश्वर गएका थिए ।
घर फर्किने बेलासम्म काठमाडौंको अवस्था असामान्य बनिसकेको थियो। बानेश्वर क्षेत्र तनावग्रस्त थियो। पानीको फोहरा, अश्रुग्यास मात्र होइन गोलीसमेत चल्न थालिसकेको थियो । उनी यो माहोल हेर्न बानेश्वरमा एकछिन के रोकिएका थिए, छातीमा गोली लाग्यो ।
काका प्राणनाथ घिमिरेका अनुसार गोलीले फोक्सोमा ठूलो असर पुर्याएको छ । केही समय त कमलको बोली नै ननिस्किने भएको थियो अहिले भने बोल्न थालेका छन् ।
‘सरकारले स्वास्थ्य उपचार निस्शुल्क गरे पनि औषधी र खानाको पैसा तिर्नुपरिरहेको छ । जसका कारण परिवारलाई खर्च धान्न गाह्रो भइसकेको छ,’ कुरुवा बस्दै आएका काका प्राणनाथले भने, ‘छातीको दायाँ भागमा ठूलो घाउ छ । डाक्टरले पुरिन निकै समय लाग्छ भनेका छन् ।’
गोली लागेपछि शारीरिक पीडा त छँदै छ, तर यहीबीच आइपरेका महत्वपूर्ण चाडपर्व कमलले खुब ‘मिस’ गरेका छन् । ‘दसैँमा त मैले नै जसोतसो टीका लगाइदिएँ,’ काका प्राणनाथ भन्छन्, ‘यो तिहार भने उसको खल्लो हुने भो । अस्पतालमा भाइटीका गर्न सजिलो छैन।’ कमलकी एक बहिनी छिन् ।
पटक–पटक शल्यक्रिया गर्नुपर्ने भएकाले घाउ कहिले निको हुने टुङ्गो नहुँदा दिक्दार कमलका काकाले भने, ‘यत्रा चाडबाड आए, म पनि अस्पतालमै बस्नुपर्ने बाध्यता आइलाग्यो । तिहारमै पनि अस्पतालकै बास भयो । डाक्टरले छोरो निको भयो, अब घर जानु भनेका दिन कति खुसी लाग्ने थियो ।’
चाडबाडका बीच अस्पतालको बेडमै रहनुपर्दा घाइतेलाई घरपरिवार आफन्तको यादले बढी सताएको छ । जेन–जी आन्दोलनका घाइतेहरू काठमाडौंका अरु अस्पतालमा पनि छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो अपडेटअनुसार राष्ट्रिय ट्रमा सेन्टरमा चार जना, त्रिवि शिक्षण अस्पतालमा तीन जना, बी एन्ड बी अस्पतालमा १ जना र नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा १ जना गरी देशभर ११ जना घाइते उपचाररत छन् । आन्दोनलमा घाइते भई उपचारका लागि दुई हजार पाँच सय ७१ जना अस्पताल पुगेका थिए ।














