Logo
Logo

बिचौलिया भट्टको विदेश भ्रमण


3k
Shares

काठमाडौं । बिचौलिया व्यवसायी दीपक भट्ट यतिबेला नेपालमा छैनन् । धितोपत्र बोर्ड लगायतका राज्य ठुला र शक्तिशाली संरचनामा नियुक्तिको सेटिङ गर्ने व्यवसायी भट्ट केही दिन आराम गर्नका लागि दुवई पुगेका हुन् ।

भट्टको करोडौँको शंकास्पद बैंकिङ कारोबार भेटिएपछि नेपाल राष्ट्र बैंकले अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेको बेला उनी विदेश जानुलाई शंकास्पद मानिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भएका बेला उनको सम्पत्ति छानबिन हुन सकेको थिएन । अहिलेको सरकारले उनको सम्पत्ति छानबिन गर्ने गरी विभागलाई पुनः पत्रचार गरेको स्रोतको दाबी छ ।
तत्कालीन समयमा ओलीको दबाबपछि राष्ट्र बैंकबाटै कारबाही गर्नुपर्ने पत्र लेखेर भट्टलाई जोगाइएको थियो  । हाल जेन–जी अगुवाले भट्टको सम्पत्ति छानबिन गरी कारबाहीको माग गर्दै फेरि उजुरी दिएपछि छानबिन अघि बढेको बताइएको छ ।

तत्कालीन समयमा विभागले ३० वैशाख ०८२ मा भट्टमाथि राष्ट्र बैंकबाटै कारबाही हुनुपर्ने देखिएको भन्दै अनुसन्धानको फाइल बन्द गरेको थियो । उनीविरुद्ध अकाट्य प्रमाण भेटिए पनि विभागले ‘सम्बन्धित नियमनकारी निकायबाटै सोतर्फ कारबाही हुनुपर्ने देखियो’ भन्ने व्यहोराको पत्र लेखेर छानबिन बन्द गरेपछि उनी फूक्काफाल भएका थिए ।

त्यसयता राष्ट्र बैंक तथा कुनै पनि निकायले भट्टमाथि अनुसन्धान अघि बढाउन सकेको थिएन । जबकि, सम्पत्ति शुद्धीकरणको पत्रमा बैंकिङ कसुर मुद्दासमेत आकर्षित हुने उल्लेख छ  । तर, राष्ट्र बैंकले यस विषयमा कारबाहीका लागि हालसम्म प्रहरीलाई पत्राचारसम्म गरेको छैन । दबाबकै कारण राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिन तथा कारबाही प्रभावित हुँदै आएको हो ।

जबकि, भट्ट र परिवारको खातामा पनि अस्वाभाविक र स्रोत नखुलेको कारोबार राष्ट्र बैंककै प्रारम्भिक छानबिनमा खुलेको थियो । यो विषयमा जेन–जी आन्दोलनपछि सरकारले पुनः चासो दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पनि चासो दिएका कारण अहिले व्यवसायी भट्ट अप्ठेरोमा परेका हुन् ।

यतिबेला पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सपत्नी सिंगापुरमा पुगेका छन् । संसदीय राजनीतिमा रहेका ठूला दलका शीर्ष नेताहरूको बेडरुममै पुग्ने भट्ट पनि विदेश पुगेकाले उनीहरूको भेट हुन सक्ने शंका गरिएको छ । भट्टले बैंकको ऋण दुरुपयोगदेखि नक्कली वित्तीय कारोबारको नक्कली कागजात बनाएको विषय पनि छानबिनमा रहेको छ । गलत लिखत तयार गरी वित्तीय विवरण तयार गरेको तथा उनका परिवारका व्यक्तिको नाममा देखिएको अस्वाभाविका कारोबारको विषयमा पनि राष्ट्र बैंकबाटै कारबाही हुनुपर्ने उजुरी परेको छ ।

उनकी सासू अञ्जना नेपालको नाममा दर्ता गरिएको एलियन्ट ब्रोकरेज कम्पनीमा हिमालयन रिइन्स्योरेन्सबाट ५२ करोड रुपैयाँ जम्मा गरिएको विषयमा समेत सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विस्तृत छानबिन थालेको छ । अवैध सम्पत्ति शुद्धीकरणकै लागि उनले आफन्तका नाममा विभिन्न कम्पनी दर्ता गरेर तह तह बनाई आफ्नो खातामा पैसा ल्याएको आरोप उनीमाथि छ ।

प्रतिक्रिया दिनुहोस्