Logo
Logo

नेपाली फेसनको भविष्य र नयाँ पुस्तालाई अवसर


दिना गुरुङ, फेसन डिजाइनर

0
Shares

युवापुस्ताको ओठमै झुण्डिने शब्द हो, ‘फेसन’ । अहिलेका पुस्ताका लागि फेसन, आर्कषण मात्र नभएर ‘प्यासन’ नै बनेको छ । फेसनकै कुरा गर्दा दिना गुरुङ एक यस्ता व्यक्ति हुन्, जो नेपाली फेसन उद्योगमा सिर्जनशीलता, संघर्ष र समर्पणका माध्यमबाट छुट्टै पहिचान बनाउन सफल छिन् । फेसन डिजाइनर, प्रशिक्षक, उद्यमी तथा महिला सशक्तीकरणकी प्रेरणादायी व्यक्तित्वका रूपमा उनले लामो समयदेखि फेसन क्षेत्रमा योगदान पु¥याउँदै आएकी छन् । उनै फेसन डिजाइनर एवं प्रशिक्षक दिना गुरुङसँग दृष्टिको जम्काभेटः

आजभोलि केमा व्यस्त हुनुहुन्छ ?

हाल फेसन प्रशिक्षकका रूपमा कार्यरत छु । नयाँ पुस्तालाई फेसन डिजाइनसम्बन्धी ज्ञान, सीप तथा व्यावहारिक प्रशिक्षण प्रदान गर्दै आएकी छु ।

फेसन क्षेत्रमा तपाइँको कसरी प्रवेश भयो ?

फेसनप्रतिको रुचि र सिर्जनशीलताले मलाई यस क्षेत्रमा ल्याएको हो । सामान्य सुरुवातबाट आफ्नो यात्रा अघि बढाउँदै आज नेपाली फेसन जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छु । यो मेरो रुची, निरन्तर यात्रा, संघर्ष, समर्पण, सिकाइ र आत्मविश्वासको परिणाम हो ।

फेसन भन्नाले के बुझिन्छ ?

फेसन केवल कपडा वा बाहिरी सौन्दर्य मात्र होइन । यो व्यक्तित्व, आत्मविश्वास, सिर्जनशीलता र आफ्नो पहिचान प्रस्तुत गर्ने माध्यम हो ।

नयाँ पुस्ता फेसनप्रति कत्तिको आकर्षित छन् ?

नयाँ पुस्तालाई फेसन डिजाइनसम्बन्धी ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्नु मेरो मुख्य उद्देश्य हो । मैले सिकेको ज्ञान र अनुभव आगामी पुस्तासँग बाँड्न पाउँदा निकै खुसी लाग्छ ।

तपाइँको सफलताको प्रेरणा के हो ?

निरन्तर मेहनत, सकारात्मक सोच र आफ्नो कामप्रतिको समर्पण नै मेरो मुख्य प्रेरणा हो । चुनौतीहरू आएपनि हार नमान्ने र हरेक कठिनाइबाट केही नयाँ सिक्ने बानीले मलाई अघि बढ्न सहयोग गरेको छ ।

तपाइँले चलचित्र, म्युजिक भिडियोसँग पनि सहकार्य गर्दै आउनुभएको छ । यस अनुभवलाई कसरी हेर्नुहुन्छ ?

हो, विभिन्न कलाकार, मोडल र मनोरञ्जन क्षेत्रसँग सहकार्य गर्दा नयाँ सिर्जना गर्ने अवसर मिल्छ । यसले मेरो कामको दायरा अझ फराकिलो बनाएको छ । हरेक परियोजनाले नयाँ अनुभव र सिकाइ प्रदान गर्छ ।

फेसन क्षेत्रमा महिलाहरूका लागि तपाइँको सन्देश के छ ?

महिलाहरूले आफ्नो क्षमता र सपनामा विश्वास गर्नुपर्छ । अवसरको प्रतीक्षा मात्र नगरी अवसर सिर्जना गर्नुपर्छ । आत्मविश्वास, मेहनत र निरन्तर सिकाइले कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न सकिन्छ ।

सामाजिक सेवाप्रति तपाइँको धारणा के छ ?

समाजबाट हामीले धेरै कुरा पाएका हुन्छौँ । त्यसैले आफ्नो क्षमताअनुसार समाजलाई केही योगदान गर्नु हाम्रो जिम्मेवारी हो । सेवा, सहयोग र सकारात्मक सोचमार्फत समाजमा राम्रो परिवर्तन ल्याउन सकिन्छ ।

आगामी दिनमा तपाइँको योजना के छ ?

फेसन क्षेत्रमा अझ नयाँ र सिर्जनात्मक काम गर्ने, नयाँ प्रतिभाहरूलाई अवसर दिने र नेपाली फेसनलाई अझ फराकिलो स्तरमा पु¥याउने मेरो योजना छ । साथै, प्रशिक्षण र सामाजिक कार्यलाई पनि निरन्तरता दिनेछु ।

नेपाली बजारमा फेसनको भविष्य कस्तो छ ?

फेसन भनेको आधुनिकताको उपज पनि हो । समाज आधुनिक युगतिर अगाडि बढिरहेको छ । यस्तो अवस्थामा फेसनको क्रेज आजभन्दा भोलि झन् बढदै जानेछ । त्यसैले केही गर्न चाहनको लागि फेसन तथा सौन्दर्य व्यवसायिक अहिलेका लागि सबैभन्दा उत्तम हुन्छ । तर, आफू शिर्जनशील चाहिँ हुनुपर्छ ।

युवाहरूलाई तपाइँको सुझाव के छ ?

आफ्नो सपना कहिल्यै नछोड्नुहोस् । सफलता तुरुन्तै प्राप्त हुँदैन । निरन्तर मेहनत, धैर्य, अनुशासन र सकारात्मक सोच आवश्यक हुन्छ । आफूभित्रको प्रतिभामा विश्वास गर्नुहोस् र हरेक दिन केही नयाँ सिक्ने प्रयास गर्नुहोस् । सिर्जनशीलता, समर्पण र सकारात्मक सोचले सफलताको उच्च शिखरसम्म पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्