काठमाडौं । नेकपा एमाले र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको ‘दुश्मनी’ फेरि सतहमा आएको छ । एमाले र बालेनबीच बारम्बार देखिएको जुहारी जेनजी आन्दोलनपछि झनै तीव्र बनेको छ ।

गत भदौ २३-२४ गतेको जेनजी आन्दोलनमा झण्डै ८० जनाको ज्यान गएको थियो । उक्त घटनाको जिम्मेवारी तत्कालीन सरकारमाथि रहेको भन्दै मेयर बालेनले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी अनुसन्धान गर्न दाबी गर्दै आएका छन् ।
उता, एमालेले भने भदौ २४ को आगजनी र तोडफोडको मुख्य ‘नाइके’ बालेन नै भएको दाबी गर्दै उनलाई कारबाही गर्नुपर्ने माग गर्दै आएको छ ।
जेनजी आन्दोलनसँगै सत्ताच्युत भएका एमाले अध्यक्ष ओलीको राहदानी रोक्ने र स्थानहद तोक्ने निर्णयपछि एमाले निकट युवा संघ बालेनविरुद्ध सक्रिय बनेको छ । एमालेको नेतृत्व लक्षित गतिविधि बालेनको योजनाअनुसार भएको निष्कर्ष निकाल्दै युवा संघ कहिले भदौ २४ को घटनामा संलग्न रहेको भन्दै प्रहरीमा जाहेरी दिन पुग्छ, त कहिले सिंहदरबार जलाउने योजना बालेनको रहेको दाबी गर्छ ।
युवा संघले आज (बिहीबार) मात्रै बालेनले सामाजिक सञ्जालमा लेखेको स्टाटसका कारण सार्वजनिक शान्ति–सुरक्षामा खलल पुगेको, गाली बेइज्जती गरेको र साइबर अपराधसमेत भएको भन्दै साइबर ब्युरोमा जाहेरी दर्ता गरेको छ । जाहेरीमा बालेनको राहदानी रोक्न माग समेत गरिएको छ ।
बालेनले कात्तिक १६ गते फेसबुकमा विभिन्न देश र नेपालका प्रमुख दलको नाम उल्लेख गरी आपत्तिजनक शब्द प्रयोग गरेका थिए । सो शब्दहरूले लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेलेका दल र मित्र राष्ट्रहरूबारे अशिष्ट टिप्पणी गरेको भन्दै जाहेरीमा आपत्ति जनाइएको छ । सार्वजनिक पदमा बसेको व्यक्तिबाट यस्तो अभिव्यक्ति आएर सामाजिक भाइचारामा खलल पुगेको र अन्तर्राष्ट्रिय सम्बन्धमा समेत आँच ल्याएको दाबी गरिएको छ ।
जाहेरीका अनुसार बालेनले विवादित स्टाटस केही समयपछि डिलिट गरे पनि त्यो प्रमाण नष्ट गर्ने प्रयासको रूपमा लिइएको छ । त्यसैले तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने माग गरिएको छ । उक्त जाहेरी युवा संघका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङले दर्ता गरेका हुन् ।
यसअघि, मेयर बालेन पक्षधर सुधन गुरुङ समूहले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै जाहेरी दिएका थिए । त्यसपछि युवा संघले त्यसको ‘काउन्टर’ रूपमा बालेन र सुधन गुरुङविरुद्ध पनि जाहेरी दिएको थियो। दुवै जाहेरी अहिले मुल्तवीमा छ ।
ओलीको कटाक्ष
एमाले निकट युवा संघले मेयर बालेनविरुद्ध जाहेरी दिएकै दिन एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जालमा प्रयोग हुने अभद्र भाषाबारे कटाक्ष गरेका छन् ।
भक्तपुरको गुण्डुस्थित निवासमा आयोजित कार्यक्रममा उनले भने, ‘अहिले त अपशब्द बोलेर सुरु गर्छन्, स्टाटस लेख्दाखेरि नेपालीले नबोल्ने भाषा लेख्छन्। त्यो असभ्यता हाम्रो संस्कृतिभित्र पर्दैन ।’
ओलीले कसैको नाम नलिए पनि उनको वक्तव्य बालेनप्रति लक्षित रहेको बुझिन्छ । गत शनिबार मध्यराति बालेनले फेसबुकमा अमेरिका, भारत, चीनलगायत देशहरू र प्रमुख राजनीतिक दलहरूलाई लक्षित गरी आपत्तिजनक स्टाटस लेखेका थिए। आलोचना सुरु भएपछि उनले उक्त स्टाटस हटाए पनि त्यसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।














