
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव,नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्माले राष्ट्रियता, लोकतन्त्र र जनताका हक अधिकार खतरामा परेको बताएका छन् । उनीहरूले शुक्रवार संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रिय जीवन असुरक्षित हुँदै गएको बताएका हुन् ।
संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मुलुकका पुराना राजनीतिक दलहरू, खासगरी तिनका नेताहरू पुरानै संरचना र तरिका जोडजाड गरेर सङ्कटलाई ढाकछोप गर्न र आफ्नो वर्चश्व बचाउन चाहन्छन् । त्यसले मुलुकलाई अझ अन्योल, अस्थिरता र सङ्कटतर्फ धकेल्ने कुरा निश्चित छ । पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न भन्ने कुरा स्वतः स्पष्ट छ ।’
आजको राष्ट्रिय निराशा र गतिरोधलाई चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा आम जनतालाई गोलबन्द गर्दै अगाडि बढ्नु आजको ज्वलन्त कार्यभार बनेको उनीहरूले बताएका छन् ।
राष्ट्रमाथि चौतर्फी सङ्कट आएको यस परिस्थितिमा सबै प्रतिबद्ध कम्युनिष्टहरु, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूले बृहत् मोर्चावन्दीको लागि पहलकदमी लिनु आवश्यक भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ,’हामी त्यस्तो ऐतिहासिक पहलकदमीका लागि सहकार्य गर्दै एकताबद्ध भएर अगाडि बढ्न सङ्कल्पबद्ध भएका छौँ । र, सबै प्रतिबद्ध कम्युनिष्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूसँग सार्थक संवाद, छलफल र सहकार्यको लागि आह्वान गर्दछौँ ।’















