Logo
Logo

निर्वाचन तयारी : बढ्दै नयाँ मतदाता र दल दर्ता


630
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नयाँ मतदाता र राजनीतिक दल थपिने क्रम तीव्र बनेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म २ लाख ९ हजार ५२२ नयाँ मतदाता नामावलीमा समावेश भएका छन् । तीमध्ये १ लाख २२ हजार ७४० पुरुष, ८६ हजार ७८५ महिला र २७ अन्य छन् ।

The current image has no alternative text. The file name is: Nirbachan-Aayog.jpg

निर्वाचन घोषणापछि २१ नयाँ दलले दर्ताका लागि आवेदन दिएका छन् । हाल आयोगमा दल दर्ता संख्या १ सय २५ पुगेको छ । हालै कबिर सोप नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल चिह्न ‘जाँतो’ नयाँ दर्ता भएको छ भने वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान खारेज भएको छ । साथै हर्क साङपाङको श्रम संस्कृति पार्टी र दिनेशराज प्रसाईँको गतिशील लोकतान्त्रिक पार्टी नयाँ थपिएका छन् ।

मतदाता नामावली सङ्कलन असोज ९ देखि सुरु भई कात्तिक ३० गतेसम्म चल्नेछ । देशभरका ७० जिल्ला निर्वाचन कार्यालयमा बिहान ८ देखि बेलुका ६ बजेसम्म बायोमेट्रिक विवरण सङ्कलन भइरहेको आयोगले जनाएको छ ।

फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने नागरिकले मात्र आगामी निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने छन् । आयोगले भीड व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा थप कर्मचारी परिचालन गरेको छ र अत्यधिक चाप भएका जिल्लामा सेवा १२ घन्टासम्म दुई सिफ्टमा दिने व्यवस्था मिलाएको छ ।

हालसम्म १८ वर्ष पुगेका मतदाताको कुल संख्या १ करोड ८१ लाख ६८ हजार २३० पुगेको छ । नामावली दर्ताका क्रममा पुरानो विवरण सच्याउने, नाम सार्ने वा हटाउने कार्य पनि भइरहेको छ ।

निर्वाचन प्रयोजनका लागि आयोगले कात्तिक २८ गते सूचना प्रकाशन गर्नेछ र मंसिर १ देखि १० गतेसम्म दल दर्ता खुला गर्नेछ । यी दलले मात्र समानुपातिक प्रणालीतर्फ भाग लिन पाउनेछन् ।

यसैबीच, निर्वाचन तयारी र समन्वयका विषयमा आज प्रधानमन्त्री सुशीला कार्की र आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीबीच छलफल हुँदैछ । सरकार र आयोगले विदेशस्थित मतदाताको मतदान अधिकार सुनिश्चित गर्ने कानुनी र प्राविधिक उपायबारे पनि परामर्श जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्