काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी केपी ओलीकै कारण धाराशाही भएको आरोप लगाएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि सभालाई सम्बोधन गर्दै उनले भने– ‘तपाईंहरू सोध्नुहोला( कम्युनिस्ट पार्टी त बनाएकै थियौँ । केपी ओली दुई तिहाइको बहुमतको प्रधानमन्त्री र त्यो पार्टीको अध्यक्ष हुनुहुन्थ्यो, मलाई पनि लागेको थियो अब देश समृद्धितिर जानेछ। हेर्नुस् त दुई तिहाइ बहुमत भएको प्रधानमन्त्रीले त प्रतिनिधिसभा विघटन पो गरेछन् । सर्वोच्चले भन्यो– संविधानविरीत भयो। मैले सुनेको त्यतिबेला प्रधान्यायाधीश उहाँकै निकट नै हुनुहुन्थ्यो रे ।’
उनले सर्वोच्चको आदेश नमानेर फेरि संसद् विघटन भएको घटनाबारे रावलले थपे, ‘उहाँले फेरि विघटन गर्नुभयो । यस हिसाबले बस्तु र तथ्यलाई मान्यौँ भने केपी ओलीभन्दा गद्दारी अरु कोही हुन्छ ? नेकपालाई केपी ओली भन्ने झापा निवासीले धारासाही पारिदिए ।’
ओलीले कम्युनिस्ट आन्दोलनप्रति गद्दारी गरेको पनि रावलले आरोप लगाए । उनले भने– ‘राष्ट्रिय सभाको यही हलमा हामीले नेकपाको बैठक गरेका थियौं । नेकपा बन्दै गर्दा मैले सोचेको थिएँ– कपाल फुल्दै देश अब समृद्धिको बाटोमा जानेछ, आफ्ना जीवनका अनुभव लेख्नेछु र खप्तड नजिकैको गाउँमा मेरा दिन बिताउने छु, हेर्नुस् त, कति दुस्खको कुरा दुईतिहाइ बहुमत भएको प्रधानमन्त्रीले दुई–दुईपटक प्रतिनिधि सभा विघटन गर्नुभयो, कम्युनिस्ट आन्दोलनप्रति यति ठूलो धोका र गद्दारी के हुन्छ ?’
उनले कम्युनिस्ट आन्दोलन बलियो बनाउन एमालेमा भएकाहरूलाई पनि नेपाली कम्युनिस्ट पार्टीमा एक बनाएर अघि बढ्ने पनि बताए । त्यस्तै उनले आफू नेतृत्वको मातृभूमि जागरण अभियानलाई नेपाली कम्युनिस्ट पार्टीमा समाहित गरेको घोषणा पनि गरे।











