काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेका जनार्दन शर्मा पक्षका नेता-कार्यकर्ताले पूर्वसांसद सुदन किरातीको नेतृत्वमा ‘प्रगतिशील राष्ट्रिय अभियान’ गठन गरेका छन् । माओवादीभित्र तीन वर्षदेखि लोकतान्त्रिक मूल्य र पारदर्शिताको बहस गर्दै आएका नेताहरूको समूहले बिहीबार एक अपिल जारी गर्दै अभियानको औपचारिक घोषणा गरेका हुन् ।

किरातीले जारी गरेको अपिलमा भनिएको छ, ‘भ्रष्टाचार, नातावाद, बेरोजगारी र राजनीतिक पार्टीहरूमा देखिएको व्यापक भ्रष्टीकरणका कारण जेनजी विद्रोह भएको घामजस्तै छर्लङ्ग छ। पुराना दलहरू जनताको आशा पूरा गर्न असफल भएकाले नयाँ राजनीतिक विकल्प अब अपरिहार्य बनेको छ ।’
अपिलमा जनआन्दोलनका सहिद, घाइते र बेपत्ता योद्धाप्रति श्रद्धा व्यक्त गर्दै देशको समग्र पुनर्संरचना र नयाँ राजनीतिक दिशा तय गर्न ‘जनताको एकता र जनपरिचालन’ आवश्यक रहेको उल्लेख गरिएको छ । किरातीले भनेका छन्, ‘हामी आगामी निर्वाचन केवल यथास्थितिको निरन्तरता दिन होइन, राज्यका असफल संरचनालाई पुनर्गठन गरेर सुदृढ राष्ट्र, सभ्य नागरिक र बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्यका साथ अघि बढ्छौँ ।’
अभियानका सात बुँदे प्रतिबद्धता
१. भ्रष्टाचार, विभेद र असमानताविरुद्ध विजय हासिल गर्ने ।
२. सांस्कृतिक समतामा आधारित समाज निर्माण गर्ने ।
३. नेपाली राजनीतिको आधारभूत पुनर्संरचना गर्ने ।
४. सहिद र बेपत्ता योद्धाहरूका सपना पूरा गर्ने ।
५. निर्वाचनलाई सफल पार्दै असफल नेताहरूलाई जनमतबाट बिदा गर्ने ।
६. देशभित्र र बाहिर सम्पर्क समिति गठन गर्ने ।
७. जेनजी विद्रोहका मुद्दा कार्यान्वयनमा चौतर्फी दबाब सिर्जना गर्ने ।
अभियानले देशभित्र बढ्दो निराशा, आक्रोश र अन्योल अन्त्य गर्न सबै प्रगतिशील शक्ति एकजुट भएर नयाँ राजनीतिक संरचना निर्माण गर्नुपर्ने निष्कर्ष निकालेको छ ।














