Logo
Logo

जसरी भएपनि उपाधि जित्ने विराटनगरको लक्ष्य, कतिको जम्ला डु-प्लेसिस र गप्टिलको जोडी ?


693
Shares

काठमाडौं । नेपालमा मौसम चिसिँदै गएको छ, तर क्रिकेटको माहोल भने तातिँदै छ । घरेलु क्रिकेटको महासंग्रम नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजन सुरु हुन अब केही दिन मात्र बाँकी छ । यो सिजन पनि पहिलो सिजनजस्तै आठ टोली भिड्दै छन् । जसमा जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, विराटनगर किंग्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स रहेका छन् ।

यी आठ टिममध्ये अहिले सबैभन्दा बढी चर्चा रहेको टिम हो– कोशीको सान अर्थात् विराटगनर किङ्स । पहिलो सिजनमा किङ्सको प्रदर्शन उत्साहजनक थिएन । सुपर फोरमा समेत पुग्न नसक्दा फ्यानहरूको मन खिन्न भएको थियो । किङ्सको एन्थमले जति हाइप लिएको थिए, प्रदर्शन भने त्यो अनुसार नभए । तर, यसपटक टिमले आफ्ना फ्यानलाई निराश बनाउने छैन भन्नेमा धेरैको विश्वस्त छन् । त्यसैले खेलाडी मात्र नभई प्रशिक्षक छनोटमा समेत किङ्सले विशेष ध्यान दिएको देखिन्छ ।

किङ्सले उपाधि जित्ने लक्ष्यसहित बलियो टिम तयार पारेको छ । पाँच जना त विदेशी खेलाडी नै भित्र्याएकाे छ । जसमा छन् दक्षिण अफ्रिकाका पूर्वकप्तान फाफ डु–प्लेसिस, दक्षिण अफ्रिकाकै ब्याटर मर्चेन्ट डे लाङ, न्यूजील्यान्डका मार्टिन गप्टिल, स्कटल्यान्डका जर्ज मन्सी र अष्ट्रेलियाका युवा साम हिजलेट ।

फाफ डु–प्लेसिस यस सिजनको एनपीएलको सबैभन्दा ठूलो नाम हो । एनपीएलको लागि उनी अनुबन्धित भएसँगै किङ्सको पनि चर्चा चुलिएको थियो । उनको चर्चा नहोस् पनि कसरी ? क्रिकेटमा उनी शान्त, संयमित र इनिङ्स निर्माणमा दक्ष ब्याट्सम्यानको रूपमा चिनिन्छन् । ज्याक कालिसको युगपश्चात् दक्षिण अफ्रिकाका बलियो स्तम्भ बनेका थिए, उनी ।

फ्रन्ट–फुटमा बल खेल्ने क्षमता, अचुक डिफेन्स र क्रीजमा लामो समय टिकेर खेल नियन्त्रण गर्ने दक्षता उनका विशेषता हुन् । उनले विश्वकै चर्चित टी–ट्वान्टी प्रतियागिता इन्डियन प्रिमियर लिग (आइपीएल)मा आरसीबीको कप्तानी समेत गरिसकेका छन् । विश्वभरका अधिकांश लिग खेलेका डु–प्लेसीको कप्तानीमा सेन्ट लुसीया किङ्सले २०२४ को क्यारेवियन प्रिमियर लिग जितेको थियो ।

उनले दक्षिण अफ्रिकाका लागि ५० टी–ट्वान्टी आई खेलमा १ शतक र १० अर्धशतकसहित १५ सय २८ रन बनाएका छन् । टी–२० मा उनले ४ सय २४ खेलमा ११ हजार ९ सय ६ रन बनाएका छन् । २०१२ देखि २०१९ सम्म दक्षिण अफ्रिकाको टी–२० आई टिमको कप्तान हरेका उनले एकदिवसीय र टेस्ट टोलीका कप्तानी समेत गरिसकेका छन् ।

अब कुरा गरौं अर्का विदेशी खेलाडी मार्टिन गप्टिलको । गप्टिल पनि विश्व प्रसिद्ध ब्याटर हुन् । आईपीएल र क्यारिबियन प्रिमियर लिगसहित विश्वभरका फ्रेन्चाइज लिग खेलिसकेका उनले पहिलो सिजनमा किङ्सबाटै खेलेका थिए । पहिलाे सिजनमा पनि उनको प्रदर्शन उत्कृष्ट थियो । तर, एकजनाले मात्रै हरेक खेल जिताउन सम्भव हुँदैन ।

गत सिजन उनलाई अरु ब्याटरहरूले साथ नदिँदा किङ्स सुपर फोरमा पनि पुग्न सकेन । तर, यसपटक गुप्टिलको साथमा डु–प्लेसी छन् । यीनै दुई खेलाडीलाई ओपनर बनाउने लगभग पक्का छ । डु–प्लेसी र गप्टिलको साझेदारी कस्तो रहाला ? किङ्सका फ्यानहरू हेर्न आत्तुर छन् । किङ्सका फ्यानहरु मात्रै होइन, अरु क्रिकेटप्रेमिहरू पनि उत्तिकै आतुर छन्, लायन्स, राइनोज, रोयल्सकै सर्थक किन नहुन् !

तर खेल जेपनि हुन सक्छ । सँधै यी दुवै खेलाडी चल्छन् भन्ने पनि छैन । र, हुँदैन पनि । यदि दुबै खेलाडी नचलेको खण्डमा स्कटल्यान्डका जर्ज मन्सी र अष्ट्रेलियाका युवा हिजलेट पर्याप्त विकल्प हुन् । मन्सीले १०२ टी–२० खेल खेल्दा २ हजार ६४८ रन बनाइसकेका छन् । उनमा विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगको अनुभव समेत छ ।

यता, नेपाली ब्याटरहरू लोकेश बम, बशीर अहमद र नरेन भट्ट पनि के कम । यदी, विदेशी खेलाडी चल्ने सकेनन् टिमलाई जिताउने सामथ्र्य उनीहरूले पनि राख्छन् । टिमलाई जिताउन सक्ने क्षमता हाम्रा खेलाडीहरूमा पनि छ ।

किङ्सको ब्याटिङ पक्ष मात्रै होइन, बलिङ पक्ष पनि बलियै छ । मार्की खेलाडी सन्दीपको कुरै गर्न परेन । अहिलेसम्म इन्डियन प्रिमियर लिग खेल्न उनीमात्र एक्ला नेपाली खेलाडी हुन् । त्यस्तै प्रतिश जिसी, सुवास भण्डारी र दक्षिण अफ्रिकाका मर्चेन्ट डे लाङ पनि कम छैनन् । जसले गर्दा बलिङ लाइनअप पनि दह्रो बनेको छ ।

प्रशिक्षक छनोटमा पनि किङ्सले विषेश ध्यान दिएको छ । नेपाली राष्ट्रिय टोलीको पूर्व मुख्य प्रशिक्षक पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षक बनाइएको छ । श्रीलंकाली मूलका क्यानडियन पुबुदु दुई पटक नेपाली टोलीको मुख्य प्रशिक्षक बनेका थिए । उनले पहिलो पटक सन् २०११–२०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए ।

यस समयमा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको थियो । र, सन् २०१४ मा बंगलादेशमा आयोजित टी–२० विश्वकपमा नेपाललाई पहिलो पटक पु¥याएका थिए । पछिल्लो समय उनले नेपाली राष्ट्रिय टोली सम्हाल्दा नेपाली टिम विभाजित थियो । त्यो अवस्थामा उनले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएर क्यानडा फर्किएका थिए ।

डु–प्लेसिस र गप्टिल जस्ता खेलाडी भित्र्याएको किङ्सले पुबुदुलाई प्रशिक्षक बनाएपछि फ्यानहरूमा उत्साह अझ बढेको छ । उनीहरुको फूर्तिफार्ती छुट्टै छ । पश्चिमका लायन्स, राइनोज, रोयल्सका फ्नहरुको मुख बन्द गराइदिएका छन् । गत सिजन भने किङ्सका फ्यानहरु गुफाभित्र पस्न बाध्य भएका थिए । तर, यसपटक पनि उनीहरुलाई खुलेर हो–हल्ला गर्ने मौका दिएको छ । अघिल्लो सिजन जस्तो निराशा पार्ने छैनन् भन्नेमा उनीहरू विश्वास्त छन् । त्यसैले यसपटक टिका लगाएर ट्रफी दिन किङ्सका फ्यानहरूले आग्रह गरिरहेका छन् ।

यसपटक किङ्स उपाधिको दाबेदारमध्ये एक टिम पक्कै हो । यसलाई कसैले नकार्न सक्दैनन् । तर, मैदानमा के हुने हो, त्यो त खेलले मात्र देखाउनेछ । त्यसैले किङ्सका फ्यानहरु सम्यामित हुन जरुरी छ । खेल सुरु नै नभई बढी फूर्तिफार्ती देखाएर पछि मैदानमा आपेक्षित हुन सकेन भने एउटा नेपाल उखान उरितार्थ हुनेछ- भुक्ने कुकुरले टोक्दैन !

प्रतिक्रिया दिनुहोस्