एजेन्सी । बीबीसीले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले २०२१ जनवरी ६ मा गरेको भाषणका अंशहरू गलत ढङ्गले जडान गरी प्रसारण गरिएको ‘पानोरामा’ एपिसोडबारे औपचारिक माफी मागेको छ । तर, ट्रम्पले माग गरेको क्षतिपूर्ति भने बीबीसीले स्पष्ट रूपमा अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्

अमेरिकी संसद् भवनमा भएको आक्रमणको दिन ट्रम्पको भाषण सही रूपमा सम्पादन नगरी प्रसारण गरिएको स्वीकार्दै बीबीसीले उक्त भिडियोले ट्रम्पले प्रत्यक्ष हिंसात्मक गतिविधिलाई उक्साएको गलत धारणा सिर्जना गरेको बताएको छ । बीबीसीले २०२४ को सो कार्यक्रम पनि पुनःप्रसारण नगर्ने निर्णय गरेको छ ।
यसबीच, ट्रम्पका कानुनी अधिकारीहरूले बीबीसीले आफ्नो बयान फिर्ता नलिएसम्म, सार्वजनिक माफी नगरेसम्म र क्षतिपूर्ति नदिएसम्म एक अर्ब डलर दाबीसहित मुद्दा दायर गर्ने चेतावनी दिँदै आएका छन् । विवाद चर्किएसँगै बीबीसीका महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले आइतवार पदबाट राजीनामासमेत दिएका छन् ।
द डेली टेलिग्राफले २०२२ को ‘न्यूजनाइट’ कार्यक्रममा पनि यस्तै ढङ्गले सम्पादित क्लिप प्रसारण भएको खुलासा गरेको केही घण्टापछि बीबीसीले स्वतः माफी मागेको हो ।











