Logo
Logo

नेकपाः ‘कम्युनिष्ट हेभिवेट’हरूको बिसौनी, जनताले अनुमोदन गर्ला ? 


630
Shares

काठमाडौं । जेनजी आन्दोलनपछि दल र नेताहरूले परिवर्तन भएको देखाउन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित १० वाम दलहरू मिलेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गठन गरेका छन् ।

यही कार्तिक १९ गते राजधानीको भृकुटीमण्डपमा एकता राष्ट्रिय सम्मेलन गर्दै माओवादी केन्द्र र एकीकृत समाजवादीसहित नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी, नेकपा (समाजवादी), नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी–समाजवादी), नेकपा (साम्यवादी), माओवादी कम्युनिष्ट केन्द्र र देशभक्त समाजवादी मोर्चाले नयाँ पार्टी निर्माणको घोषणा गरेको थियो । त्यसको एक सातापछि उक्त पार्टीमा राष्ट्रवादी छवि बनाएका पूर्वउपप्रधानमन्त्री तथा मातृभूमि जागरण अभियान, नेपालका प्रस्तावक भीम रावल पनि जोडिए, जसले पार्टीभित्र उत्साह थपिएको देखिन्छ ।

हाल उक्त पार्टीमा ३ पूर्वप्रधानमन्त्री र ३ पूर्वसभामुख छन् । तीनपटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपाका प्रमुख कमाण्डरका रूपमा संयोजक बनेका छन् । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ‘सेकेन्ड म्यान’ का रूपमा सह–संयोजक बनेका छन् भने झलनाथ खनाल पनि अन्तिम घडीमा नेकपामा आबद्ध भए ।

पार्टीमा थप तीन पूर्वउपप्रधानमन्त्रीहरू वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र भीम रावलसहित पूर्वसभामुख कृष्णबहादुर महरा पनि रहेका छन् । वरीयतामा प्रचण्ड र माधवपछि क्रमशः झलनाथ, वामदेव, नारायणकाजी र भीम रावल रहेका छन् । यस्तै, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन तथा पूर्वसभामुख अग्नि सापकोटा, ओनसरी घर्ती र कृष्णबहादुर महरा पनि पार्टीमा छन्, तर उनीहरूको औपचारिक पोजिसन स्पष्ट भइसकेको छैन, सम्भवतः उनीहरू उच्च नेतृत्व तहमै रहनेछन् ।

यद्यपि प्रचण्ड संयोजक भए पनि नेकपाको शीर्ष तहमा पूर्वएमाले नेताहरूकै बलियो पकड देखिन्छ । माधव, झलनाथ, वामदेव र भीम सबै एमाले पृष्ठभूमिबाट आएका हुन् । यसअघि एमाले–माओवादी मिलेर बनेको नेकपाको नौ सदस्यीय सचिवालयमा रहेका पाँचजना अहिले पुनः यसै पार्टीमा अटाएका छन् । तुलना गर्दा अहिले एमालेभन्दा नेकपाको नेतृत्व पंक्ति निकै ‘हेभिवेट’ देखिन्छ।

एमालेमा पूर्वप्रधानमन्त्री अध्यक्ष ओली मात्रै छन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ‘कमब्याक’ गर्न इच्छुक रहे पनि अध्यक्ष ओलीले अनुमति दिएनन् । झलनाथलाई भित्र्याउन पनि चासो देखाएनन् । फलतः एमालेले दुईजना ‘हेभिवेट’ नेता गुमाएको छ ।

लामो समयदेखि छिन्नभिन्न भएका कम्युनिष्ट घटकहरूको एकीकरण प्रयास स्वरूप जन्मेको नेपाली कम्युनिष्ट पार्टी अहिले ‘हेभिवेट नेताहरूको बिसौनी’ जस्तै देखिन्छ । पार्टीको नेतृत्व मञ्चमा दम्भका साथ बस्ने नेताहरूको लामो लर्को छ, तर कार्यकर्ता र जनता कति छन् भन्ने प्रश्न अहिले पनि यथावत् छ । 

नेपाली कम्युनिष्ट आन्दोलन सधैँ विभाजनको शिकार हुँदै आएको छ । २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीदेखि २०७५ मा बनेको नेकपासम्म आइपुग्दा दर्जनौँ टुक्रा बनेको छ । पछिल्लो एकीकरणमा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका असन्तुष्ट समूहहरू समेत समेटिएका छन् । त्यसैले विगतको जस्तै नेतृत्वको अहं र सैद्धान्तिक मतभेदले यो एकता कहिलेसम्म टिक्ला ? भन्ने प्रश्न कायमै राखेको छ ।

यी दलहरू एकीकृत भए पनि यदि संगठन विस्तार, नीतिगत स्पष्टता र जनतासँग जोडिने विश्वसनीय रणनीति बनाउन सकेनन् भने इतिहासले फेरि एक असफल अध्याय नदोहो¥याउने ग्यारेन्टी छैन । झट्ट हेर्दा नयाँ नाम, नयाँ गठबन्धन भए पनि अनुहार, चरित्र र सत्ताको प्रवृत्ति भने उस्तै देखिन्छ । मञ्चमा बस्नको लागि नेताहरूको अभाव छैन, तर वास्तविक जनसमर्थन कति छ ? त्यसको जवाफ भने आउने निर्वाचनले नै दिनेछ ।

प्रतिक्रिया दिनुहोस्