जनकपुरधाम । मधेश प्रदेशका तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी असंवैधानिक तरिकाले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्तको विरुद्धमा आज पनि सात राजनीतिक दलले धर्ना दिएका छन्।

आइतबार बिहानैदेखि नेपाली कांग्रेस, जसपा नेपाल, लोसपा नेपाल, नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका सांसदसहित कार्यकर्ताहरू मधेश भवन अगाडि धर्ना दिएका हुन्।
संविधानको धारा १६८ को उपधारा २ जीवित हुँदाहुँदै प्रदेश प्रमुख भण्डारीले उपधारा ३ मा प्रवेश गरी ठुलो दलको हैसियतले एमालेका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै २४ कार्तिकदेखि नै सात दलले विरोध प्रदर्शनमा उत्रेका छन्।
सडक संघर्षसँगै सात दलका ७४ जना सांसदले मुख्यमन्त्रीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दिएको रिटमा आज सुनुवाइ हुँदैछ, जसपा नेपालका प्रमुख सचेक राम अषिश यादवले भने, ‘हामी अदालतको फैसला कुर्दै शान्तिपूर्ण धर्नामा बसिरहेका छौं।’
सर्वोच्च अदालतले यसअघि दीर्घकालीन असर पर्ने काम नगर्न/नराउन सरकारलाई अन्तरिम आदेश दिइसकेका छन्।











