काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं संरक्षक रहेका भनिएको ‘नागरिक बचाउ दल, नेपाल’ दर्ताका निम्ति निर्वाचन आयोगमा निवेदन दिइएको छ ।

यही कात्तिक २३ गते नै निवेदन दिइएको थियो । आइतबार (कात्तिक ३०) उक्त पार्टीका पदाधिकारी आयोगमा उपस्थित भएर सनाखत गरेका छन् ।
‘नागरिक बचाउ दल, नेपाल’को सभापतिमा झापाका माधवप्रसाद खतिवडा छन् । उपसभापतिमा काठमाडौंका ईश्वरीप्रसाद भट्टराई र झापाका देवीप्रसाद संग्रौला छन् ।
यस्तै, महामन्त्रीमा झापाकै प्रेमकुमार थाम्सुहाङ छन् । सहमहामन्त्रीमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का विष्णु क्षेत्री छन् । कोषाध्यक्षमा मोरङकी सुष्मा रेग्मी रिजाल छिन् । प्रवक्तामा पाल्पाका प्रेम थापामगर छन् ।
सदस्यहरूमा भक्तपुरका रामकुमार कार्की, काभ्रेपलाञ्चोकका प्रविन लामा, ललितपुरका शक्तिराज शाही, काठमाडौंका दिवाकरमान सिंह बस्नेत, मोरङकी लुजा राई, झापाकी रेनुकादेवी खरेल, दोलखाकी तुलसाकुमारी खत्री, पर्साका राजेन्द्रबहादुर दमाईं, काठमाडौंका विजय थापा छन् ।
यसैगरी, सदस्यमा गुल्मीका तेजिन्द्र रायमाझी, धनुषाका हरदेव महतो, रामेछापका बलबहादुर तामाङ, भक्तपुरका नवराज दुलाल, तनहुँकी दानुमाया थापा, दाङकी रेणु हमाल शाही, धनुषाका दिनेश पाख्रिन, ललितपुरका राजु श्रेष्ठ र उदयपुरका पुष्पराज भण्डारी छन् ।
दल दर्ताका निम्ति दिइएको निवेदनमा प्रसाईंको नाम उल्लेख छैन ।
निर्वाचन आयोगले भने दल दर्ताको निवेदन प्राप्त भएको खण्डमा कागजात पुगेरनपुगेको हेर्ने र कागजात पुगेपछि दर्ता गर्ने छ । मङ्सिर १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय भएकाले त्यसदिनसम्मै निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएकाले चुनाव लड्न सक्नेछन् ।
प्रतिनिधि सभाको चुनाव आगामी फागुन २१ गतेका लागि तय भएको छ । दुर्गा प्रसाईँ सरकारसँग विभिन्न माग राखेर अभियानमा छन् । उनलाई सरकारले चुनाव लडेर आउन र माग पूरा गर्न समेत आग्रह गर्दै आएको छ ।











