काठमाडौं । शिक्षामन्त्री महावीर पुनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई लक्षित कटाक्ष गरेका छन् । प्रसाईँले पछिल्लो समय दिँदै आएका विभिन्न अभिव्यक्तिप्रति इङ्गित गर्दै मन्त्री पुनले उनको पैसाको स्रोतबारे प्रश्न उठाएका हुन् ।

आइतबार साँझ सामाजिक सञ्जालमा पोस्ट गर्दै शिक्षामन्त्री पुनले प्रसाईँका घोषणाहरूमाथि आश्चर्य व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘साह्रै अचम्म लाग्यो, दुर्गा प्रसाईँ भाइले सेना, प्रहरी, शिक्षकहरूको तलब एक लाख रुपैयाँ पुर्याइदिने र २० लाख रुपैयाँभन्दा तलको सबैको ऋण मिनाहा गरिदिने भनेर घोषणा गरेका रहेछन् ।’
मन्त्री पुनले यी घोषणा कार्यान्वयन गर्न आवश्यक विशाल रकमको स्रोतमाथि प्रश्न उठाएका छन् । उनले लेखेका छन्, ‘तलब बढाएपछि अरू सबैको पनि बढाउनुपर्छ । अनि ऋण मिनाहा गर्न पैसा चाहिन्छ । त्यत्रो धेरै पैसा कहाँबाट ल्याउने रहेछन् ? पैसा उमार्ने जादु नै छ कि क्या हो दुर्गा भाइसँग ?’शिक्षामन्त्री पुनको यो अभिव्यक्ति प्रसाईँले सार्वजनिक रूपमा कर्मचारीहरूको तलब वृद्धि र ऋण मिनाहाजस्ता महत्त्वाकाङ्क्षी घोषणा गरेपछि आएको हो ।











