
काठमाडौं । नेपाल प्रहरीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान वरपर भीडभाड नगरिदिन अनुरोध गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको आजको सम्पूर्ण टिकटहरू सकिएको भन्दै प्रहरीले सूचना नै निकालेर टीयू मैदान वरपर नजान भनेको हो ।
‘टिकट नभएका महानुभावहरू उक्त स्थान वरपर भीडभाड नगरी सुरक्षा व्यवस्थापन गर्ने कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं,’ प्रहरीले भनेको छ ।
आजबाट सुरु हुने एनपीएल क्रिकेटको दोस्रो संस्करण पहिलोपटक फ्लडलाइटमा हुन लागेको छ । उद्घाटन खेलमा काठमाडौं गोर्खाज र साविक विजेता जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दैछन् ।
एनपीएलमा यसपटक पनि जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाजका साथै सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, विराटनगर किङ्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्दैछन् ।











