
काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधसभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको बैठकले त्यसका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो ।
भदौ २७ र असोज ३ गते बसेको कार्यसम्पादन समितिका निर्णयहरू अनुमोदन गर्दै बैठकले माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो ।
त्यसका लागि केन्द्रीय कार्यालयका मुख्य सचिवलाई जिम्मेवारी प्रदान गर्ने निर्णय बैठकले गरेको छ । निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै भएको कांग्रेसको ठहर छ । ‘निर्वाचन मार्फत नै संविधानको रक्षा तथा जेनजेड प्रदर्शनका क्रममा परिवर्तनका लागि उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने हाम्रो दृढ विश्वास छ,’ उसले भनेको छ ।
निर्वाचनका लागि भयरहित वातावरण अपरिहार्य रहेको जनाउँदै कांग्रेसले शान्ति सुरक्षाका विषयमा भने आशंका व्यक्त गरेको छ । हजारौँ कैदीबन्दी फरार रहनु, ठुलो परिमाणमा हातहतियार हराइरहनु, राजनीतिक दलहरूले निर्वाध रूपमा आफ्ना कार्यक्रम सञ्चालन गर्न नपाउनु र निर्वाचनका लागि आवश्यक न्यूनतम अवस्था पनि स्थापित हुन नसक्नुलाई कांग्रेसले विचारणीय विषय मानेको छ ।
तत्काल शान्ति–सुरक्षामा सुधार ल्याउन, सुरक्षाकर्मीको मनोबल उच्च बनाउन तथा आमनागरिकमा भयमुक्त वातावरण सुनिश्चित गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।
भदौ २४ गतेको अकल्पनीय विध्वंस र अराजकताले निम्त्याएको जटिल परिस्थितिमा तत्कालीन संकटबाट देशलाई बाहिर निकाल्ने र संविधानको संरक्षण गर्न, सरकारविहीन अवस्थाबिच प्रदर्शनरत जेनजीहरूको माग सम्बोधन र शान्ति–सुरक्षा कायम गर्न राष्ट्रपतिले संसद्बाहिरबाट अन्तरिम प्रधानमन्त्री नियुक्त गर्नुपर्ने अवस्था आएको पनि उल्लेख गरिएको छ । कांग्रेसले संवैधानिक व्यवस्थाअनुसार संसद्भित्रैबाट निकास खोज्न सकिन्थ्यो भन्ने पनि स्पष्ट गरेको छ ।











