Logo
Logo

धुर्मुस सुन्तलीलाई मन्त्री वनाउँदा


- दृष्टि न्युज/संवाददाता



माघ १६ गते धुर्मुस सुन्तली नामले लोकप्रिय कलाकार जोडिले अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला वनाउने घोषणा गरे । उनीहरुको काम हेर्दा यी कलाकार जोडिलाई विकास निर्माण सम्वन्धी मन्त्री वनाउनु पर्ने विचार व्यक्त हुन थालेको छ ।

यहाँ प्रश्न यो हो कि यी कलाकार जोडिले जनतावाट उठाएको पैसावाट वस्ती वसाउन सक्ने, ३०० करोडको रंगशाला वनाउन आँट गर्न सक्ने, तर अरबौंको वजेट भएको नेपाल सरकारले किन जनताको अपेक्षा अनुसार काम गर्न नसकेको होला ?

उक्त घोषणा कार्यक्रममा प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला लगायतका नेताहरु उपस्थित थिए । सबैले रंगशाला वनाउने अभियानमा सहयोग गर्ने वचन दिए ।

एक जोडि कलाकारले करीव ३०० करोड लाग्ने रंगशाला २ वर्षमा वनाउने घोषणा गर्नु सानो तिनो कुरा होइन । ती कलाकार जोडिले यस अघि पनि विभिन्न कामहरु गरिसकेका छन् । आफुसंग पैसा भएर होइन, जनतावाट नै उठाएर यस अघिका कामहरु पनि सम्पन्न गरेका छन् ।

अहिलेको ३०० करोडको योजना पनि जनतावाट उठाएर नै सम्पन्न गर्र्ने उनीहरुको योजना सार्वजनिक गरिएकोछ ।

धुर्मुस सुन्तलीको विचारधारा वा विश्वदृष्टिकोण भनेको धार्मिक समाजवाद हो । सो कार्यक्रममा धुर्मुसले भनेका छन्—म पापको खोल ओढेर मृत्यु वरण गर्न चाहन्न । धर्म गर्नु पर्दछ, समाज सेवा गर्नु पर्दछ, पाप गर्नु हुँदैन, आदि जस्ता धारणामा विश्वासले उनीहरुलाई समाजसेवा गर्न र त्यस काममा कुनै पाप नगर्न प्रेरित गरिरहेकोछ । यसैले गर्दा उनीहरु सफल भएका छन् ।

तर सरकारका नेताहरु, कर्मचारीतन्त्र तथा दलाल र नोकरशाही पूँजीपति वर्गको दृष्टिकोण भने यसको ठिक विपरित देखिन्छ । वाहिर समाजवादको नारा फलाके पनि भित्र भित्र एक दुई पुस्तालाई पुग्ने गरी कमाउने नियत छ भने त्यस्ता नेताहरुवाट कसरी जनपक्षीय काम हुन्छ र ? सरकारी कामलाई राजाको काम कहिले जाला घाम भन्ने सोचाई भएपछि र कर्मचारी भएर जसरी भएपनि कमाउने उद्देश्य मुख्य वनाएपछि त्यस्तो कर्मचारीतन्त्रले धुर्मुस सुन्तलीले जति पनि काम गर्न नसक्ने स्वतः सिद्ध छ ।

धुर्मुस सुन्तली जस्तालाई मन्त्री वा प्रधानमन्त्री वनाउने हो भने केही सुधार त अवश्यपनि होला । तर त्यो वेला उनीहरुले समाजवादको खोल ओढेका दलाल तथा नोकरशाही पूजीपतिहरु र भ्रष्टाचारमा लिप्त कर्मचारीतन्त्रको सामना गर्न सक्ने सम्भावना धेरै कम हुनेछ । उनीहरुले यस्ता धार्मिक समाजवादी कलाकार जोडिलाई पनि आफु जस्तो वनाउन कोशिस गर्नेछन् । त्यसमा असफल भएमा काममा वाधा अडचन राखेर असफल वनाइ निकाल्नेछन् ।

त्यो भन्दा पनि मुख्य कुरा त धुर्मुस सुन्तली जस्तालाइ मन्त्री वा प्रधानमन्त्री वन्न दिने वाटो नै रोक्नेछन् सत्ताधारीहरुले ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्