काठमाडौं । नेपाल प्रहरीका सरुवा बढुवादेखि ठेक्कापट्टामा बिचौलियाहरु सलबलाउन थालेका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरीका लागि गैरघातक हतियार खरिद गर्ने भनाइ सार्वजनिक गरिसकेका छन् । जेनजी आन्दोलनका क्रममा प्रहरीका सयौं गाडी आगजनी भएर नष्ट भएकाले निर्वाचनको मुखमा गाडी खरिद गर्नुपर्नेछ ।

प्रहरीका लागि निर्वाचन अगावै गाडी खरिद गर्ने तयारी भइरहेको छ । प्रहरीको लागि गाडी खरिददेखि बन्दोबस्तीका सामान खरिदका लागि पनि बिचौलियाहरु सक्रिय भएका छन् । विगतमा लोकमानसिंह कार्की अख्तियार प्रमुख हुँदा उनको निकट भएर लाभ लिएका निगम हुमागाईं उनलाई महाभियोग लागेपछि नेपाली कांग्रेसमा प्रवेश गरी प्रदीप पौडेलको निकट भएका थिए । तिनै हुमागाई भदौ २४ गतेको जेनजी आन्दोलनलगत्तै कांग्रेस छाडेर जेनजी भएका छन् । उनी पछिल्ला दिनमा सेनापति अशोकराज सिग्देलको समेत नाम लिने गर्दछन् ।
नेपाल प्रहरीका आइजीपीमा दानबहादुर कार्कीलाई नियुक्ति गराउन सेनापति सिग्देलसँग पटक पटक भेट्टाएको दाबी गर्दैआएका छन् । स्रोतका अनुसार यस्ता बिचौलियाहरु त्रिपुरेश्वरस्थित सेनापति अध्यक्ष हुने राष्ट्रिय सेवा दलको बोर्ड सदस्य समेत रहेको भन्ने पछिल्ला दिनमा गाडीका एजेन्ट बोकेर आईजीपी कार्कीको निवासमै बाक्लै जाने गरेका छन् । गाडी बिक्रेता कम्पनीसँग मोलमोलाइमा उनीहरु लागेका छन् । राम्रा जिल्ला वा कार्यालयमा सरुवा गराउन समेत यस्तै बिचौलियाहरुकोमा प्रहरी अधिकृतको लाइन लाग्ने गरेको छ ।
सर्बेन्द्र खनाल आईजीपी हुँदा निकै तामझामका साथ सुरु गरिएको सामुदाय प्रहरी साझेदारी कार्यक्रमको नाममो म्यूजिक भिडियोदेखि बिभिन्न कार्यक्रमको ठेक्का लिएर कुस्त कमाइ गरेका सरोज ओली पनि आईजीपी कार्कीलाई बिबादमा ल्याउने अर्का पात्र हुन् ।
सर्वेन्द्र खनालको कार्यकालमा सचिवालयमा रहेका हालका आईजीपी कार्कीसँग उनको त्यसबेलादेखि निकट सम्बन्ध रहेको छ । खनालका पालामा सचिवालयमा कार्यरत उत्तमराज सुवेदीसँग पनि चाकरीका आधारमा पर्याप्त काम लिन र कमाउन सफल भएका ओलीलाई त्यसपछिका आईजीपीले त्यति भाउ दिएका थिएनन् ।
प्रहरीका हाकिमहरु र शासन सत्तामा रहेका मन्त्री र कर्मचारीको गीत लेख्ने, उनीहरुका श्रीमती, छोराछोरीलाई म्यूजिक भिडियोमा मोडलिङ गराउने, सम्मानको धन्दा गर्ने ओली नायक पल शाहलाई फसाउने एक पात्र पनि हुन् । आईजीपी कार्की गीत लेखन पनि गर्ने भएकाले म्यूजिक भिडियो बनाउने बहानामा पनि ओली उनीसँग नजिक हुन पुगेका छन् ।
विगतमा सशस्त्रका पूर्वआइजीपी शैलेन्द्र खनालका छोरा र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनीको म्यूजिक भिडियो बनाएर ‘नेपोबेबी’ लाई प्रोत्साहित गर्ने र दुबैतिरबाट कुस्त लाभ लिन सफल भएका थिए । सत्ताका निकट र पावरमा बसेकाहरुबाट कसरी लाभ लिन सकिन्छ भन्ने अनुभवी ओलीले आईजीपी कार्कीको नाम भजाउन थालिसकेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजीका अनेक समूहले वाक्कदिक्क बनाएर भेट्नसमेत छाडिसकेकी छन् । तर आईजीपी कार्की भने पदीय मर्यादाकै ख्याल नगरी जेनजी भेट्ने, फोटोसेसन गराउने र शैलुन उद्घाटन गर्ने गर्न थालेका छन् ।











