Logo
Logo

सडक विस्तार प्रभावितका लागि हेटौंडा उपमहानगरले के-के निर्णय गर्यो ?


0
Shares

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रको सडक विस्तारका क्रममा विस्थापित भएकाका परिवारलाई आवास व्यवस्थाका लागि सहजीकरण गर्ने भएको छ ।

आज बसेको उपमहानगरको कार्यपालिका बैठकले हेटौंडाको प्रभावित परिवारलाई आवास व्यवस्थाका लागि सहजीकरण र समन्वय गर्ने निर्णय गरेको हो । सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार बिहानबाट पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथको सडक सीमामा रहेका घरटहरा र संरचनाहरु भत्काएको छ ।

कार्यालयले करिब ५०० घरटहरा तथा संरचनाको सटर, झ्यालढोका तथा भवनका भित्ता क्षतविक्षत बनाएको छ । मुख्य बजार क्षेत्रका घरटहरा र संरचनाहरु भग्नावशेष बनेपछि उपमहानगरले कार्यपालिका बैठकमार्फत विस्थापित परिवारलाई आवास व्यवस्थाका लागि सहजीकरण गर्ने निर्णय गरेको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार प्रभावित घरधनीहरुको घर निर्माण गर्न लाग्ने खर्च व्यवस्थापनका लागि सहुलियतपूर्ण व्याजदरमा निश्चित समयसम्मका लागि ऋण उपलब्ध गराउन अर्थ मन्त्रालय मार्फत राष्ट्र बैंकलाई अनुरोध गर्ने पनि निर्णय भएको छ ।

प्रभावितहरुको भवन निर्माणका लागि सहजता कायम गर्न ‘फाष्ट ट्रयाक’ प्रक्रियाबाट प्राविधिक सहयोग सहित नक्सापास लगायतका सेवाहरु प्रवाह गरिने भएको छ ।

सडक विस्तारका क्रममा प्रभावित भई व्यवसायको निरन्तरता हुन नसकेका व्यवसायीको लगत लिएर व्यवसाय सुरु नहुँदासम्म व्यवसाय कर छुट दिनका लागि नगर सभामा पेश गर्ने निर्णय गरेको प्रवक्ता न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्