भोजपुर । भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र पञ्चकन्या मन्दिर आसपासको क्षेत्र फेरिँदै गएको छ । उपयुक्त पूर्वाधार विकाससँगै स्थानीय क्षेत्र पर्यटकीय तथा व्यापारिक केन्द्रका रूपमा रूपान्तरण हुन थालेको हो ।

स्थानीय तह, प्रदेश सरकार तथा विभिन्न सरोकार भएका निकायको सक्रियतामा सञ्चालित विकास निर्माणका योजनाहरू सम्पन्न हुने क्रमसँगै च्याङ्ग्रेको स्वरूप फेरिएको स्थानीय बताउँछन् ।
विशेष गरी बजारको मुख्य भागमा अवस्थित ऐतिहासिक ‘च्याङ्ग्रे पोखरी’ को व्यवस्थित पुनस्निर्माण र सौन्दर्यीकरण गरिएको छ । पोखरीको चारैतिर पक्की पर्खाल तथा सुरक्षा घेराबारा लगाइएको छ भने किनारै–किनार पर्यटक तथा स्थानीयवासीका लागि पैदलमार्ग (वाकिङ ट्रयाक) निर्माण गरिएको छ ।
पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईले पोखरीमा अहिले जलविहारका लागि पानी बोटसमेत सञ्चालनमा ल्याइएको जानकारी दिए ।पोखरीको मनमोहक दृश्यले बजारमा आउने जोकोहीलाई लोभ्याउने गरेको छ भने साँझपख टहलिनका लागि यो क्षेत्र प्रमुख गन्तव्य बनेको उनको भनाइ छ ।
साथै पर्यटनलाई लक्षित गरी नजिकै झोलुङ्गे पुल निर्माण गरिएको छ । पर्यटक तथा स्थानीयवासी सो पुलमा पुगेर बजार क्षेत्रको मनोरम दृश्य अवलोकन गर्नुका साथै तस्विर तथा श्रव्यदृश्य सामग्री खिच्ने, रमाउने गरेका छन् । गाउँपालिका केन्द्रसमेत रहेकाले च्याङ्ग्रे क्षेत्रको योजनाबद्ध विकासमा विशेष जोड दिइएको अध्यक्ष राईले बताए । बजार क्षेत्रको सौन्दर्यीकरण र व्यवस्थित सहरीकरणका लागि च्याङग्रे पोखरीको संरक्षणका साथै आन्तरिक पर्यटन प्रवर्द्धन गरेको उनले विश्वास व्यक्त गरे ।
साथै, पोखरीको पौराणिक तथा सांस्कृतिक महत्त्वलाई ध्यानमा राख्दै पोखरी किनारमा ‘पञ्चकन्या मन्दिर’ निर्माण भइरहेको उनले जानकारी दिए । ‘हामी च्याङग्रे बजार क्षेत्रको योजनाबद्ध विकास गरिरहेका छौँ’, अध्यक्ष राईले भने, ‘यहाँका धार्मिक तथा पर्यटकीयस्थलको प्रवर्द्धनसँगै यस क्षेत्रमा सकारात्मक परिवर्तन आएको छ । आगामी दिनमा पनि दीर्घकालीन र योजनाबद्ध विकासका कामलाई निरन्तरता दिनेछौँ ।’
बजार प्रवेशको शून्य विन्दु तिवारीभञ्याङबाट च्याङ्ग्रे बजारसम्मको सडक कालोपत्रेसँगै बजार क्षेत्रमा ढल र नाली व्यवस्थापन गरिएसँगै ‘च्याङ्ग्रे’ व्यवस्थित बजार बन्दै गएको स्थानीय बालिका खत्रीले बताए ।
यहाँका विद्यालय क्षेत्रको विकास तथा गाउँपालिकाको प्रशासनिक भवन निर्माणलगायत संरचनागत विकासले च्याङ्ग्रेलाई परम्परागत ग्रामीण बजारबाट आधुनिक सहरोन्मुख क्षेत्रका रूपमा स्थापित गर्दै लगेको छ । खेल क्षेत्रको विकास लागि बजार क्षेत्रमा पौवादुङमा रङ्गशाला निर्माण भइरहेको छ ।
पूर्वाधारमा भएको यस ऐतिहासिक सुधारले स्थानीय पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने स्थानीयवासीको भनाइ छ । पर्यटकीय पूर्वाधारहरू तयार भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको स्थानीय बताउँछन् । यसले स्थानीय व्यापार, होटल व्यवसाय तथा कृषि उपजको बजारीकरणमा सहजता भएको स्थानीयले प्रतिक्रिया दिएका छन् ।













