काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जेनजी आन्दोलनकारीसँग गरेको सम्झौतालाई ‘कलाबिहीन भद्दा नाटक’ र ‘गम्भीर षड्यन्त्र’ को संज्ञा दिएका छन् । उनले यो सम्झौता देशलाई भिडन्ततर्फ धकेल्ने प्रपञ्च भएको टिप्पणी गरे ।

शनिवार भक्तपुरको सल्लाघारीमा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले सरकारले एकातिर निर्वाचनको हल्ला फैलाइरहेको तर अर्कोतिर निर्वाचन बिथोल्ने काम गरिरहेको आरोप लगाए ।
‘सरकार जेनजीसँग यस्ता नाटक मञ्चन गरेर लोकतन्त्रलाई रोक्ने वातावरण बनाउँदैछ,’ उनले भने, ‘यो अनधिकृत हर्कत हो र देशलाई गम्भीर संकटतर्फ लाने जालो हो ।’ ओलीले सरकारले चुनावी वातावरण बनाउनतर्फ कुनै ध्यान नदिएको बताए ।
‘नेताहरूको राहदानी रद्द गर्ने, स्थानहद तोक्ने र निषेधाज्ञा जारी गर्ने यही हो चुनावको तयारी ?’ उनले प्रश्न गर्दै भने । उनले सरकारको म्यान्डेट आगामी २१ फागुनमा चुनाव गराउने रहेको स्मरण गराउँदै आवश्यक गृहकार्य नगरेको तथा राजनीतिक दलहरूको विश्वास आर्जन नगरेको आरोप लगाए ।
जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता नभएको र भागेका कैदीहरू फर्काउन बाँकी रहेको उल्लेख गर्दै ओलीले यस्तो अवस्थामा चुनावी वातावरण नबनेको बताए ।
‘मतदानको स्वतन्त्रता सुरक्षित र साँचो प्रतिस्पर्धा हुने वातावरणमा एमाले चुनावबाट भाग्दैन,’ उनले भने, ‘तर अहिलेको अवस्थामा प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक छ ।’











