Logo
Logo

ओलीलाई बाँचुन्जेल कार्यकारी पदमा रहिरहने मान्यता त्याग्न ज्ञवालीको सुझाव


630
Shares

काठमाडौं । नेकपा एमालेका नेता युवराज ज्ञवालीले एउटै कार्यकारी पदमा बसिरहँदा लोकतन्त्र र पार्टी  दुवै कमजोर हुने बताएका छन् । उनले बाँचुन्जेल कार्यकारी पदमा रहिरहने मान्यता त्याग्न अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव समेत दिएका छन् ।

पार्टीको एघारौँ महाधिवेशनको बन्दसत्र स्थलमा पत्रकारहरूसँग कुरा गर्दै ज्ञवालीले बाँचुन्जेल कार्यकारी पदमा बस्नु हुन्न लोकतन्त्र र पार्टी दुवैका लागि कमजोर हुने बताएका हुन् । 

उनले भने, ‘अध्यक्ष ओली मात्रै होइन, नेपालका सबै राजनीतिक पार्टीहरूलाई, नेताहरूलाई तपाईँहरू बाचुन्जेल कार्यकारी पदमै बसिरहने मान्यताबाट पछि हट्नुस् । यसो गर्नु हुन्न । यसले लोकतन्त्र कमजोर हुन्छ, पार्टी कमजोर हुन्छ ।’

पार्टीमा युवा पुस्तालाई ल्याउनुपर्ने उनको धारणा छ । उनले भने, ‘नयाँ जेनेरसनलाई ल्याउनुपर्छ । अबको युग नयाँको हो । हामीले युवाहरूलाई पार्टीमा भर्नुपर्यो, अगाडि बढाउनुपर्यो । हामीले छोड्दै गएपछि नयाँ आउँछ । हामीले छोड्दै नछोडेपछि नयाँ कसरी आउँछ ?’

उनले अहिले आफूहरूले भनेजस्तो नभए आगामी महाधिवेशनमा लागु गर्नुपर्ने बताए । ‘अहिले हामीले भनेको जस्तो लागु भएन भने बाह्रौँमा लागु गर्नुपर्छ, तेह्रौँमा लागु गर्नुपर्छ,’ ज्ञवालीले भने, ‘जीवन भनेको अनन्त रूपमा चलिरहने कुरा हो ।’ एमालेका निवर्तमान उपाध्यक्ष ज्ञवालीले आफू ७० वर्ष पुगिसकेको भन्दै अब पार्टी चुनाव नलड्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्