
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप पठाउन लागेका दुई हात्ती भैरहवा पुगेका छन् । भोलि (बुधबार) गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ती हात्ती कतार लैजाने तयारी छ ।
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका सात वर्षीया रुद्रकली र ६ वर्षको खगेन्द्रप्रसाद मंगलबार (पुस १) बिहान ४ बजे भैरहवा पुगेका हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार, अहिले ती हात्तीलाई विमानस्थल छेउको खाली जग्गामा राखिएको छ ।
ती हात्तीलाई सोमबार (मंसिर २९) सौराहाबाट बिदाइ गरिएको थियो । हात्तीलाई खोरमा राखी ट्रकमा पठाइएको हो ।
बुधबार वन तथा वातावरण मन्त्रालयका सचिव एवं राष्ट्रिय निकुञ्ज विभागका उच्च अधिकारीले भैरहवामा नै कतारी दूतावासलाई ती हात्ती हस्तान्तरण गर्नेछन् । हस्तान्तरण गरिएपछि कार्गो विमानमार्फत ती हात्तीलाई कतार पठाइनेछ ।
रुद्रकली पूजाकली र खगेन्द्र कोसीकलीको बच्चा हो । रुद्रकली र खगेन्द्रको बाबु जंगली भाले हात्ती रोनाल्डो भएको उनले बताए ।
खोरसोरमा रहेका पोथी हात्ती जंगली भाले रोनाल्डो, ध्रुवे, गोविन्देजस्ता शक्तिशाली हात्तीसँगको सहवासमा गर्भवती हुने गर्छन् । सरकारले हात्ती दिने निर्णय गरेपछि सबै प्रक्रिया पूरा गरी पठाउन लागिएको हो ।
नेपालले यसअघि अरू विभिन्न मुलुकलाई गैँडा उपहार दिएको भए पनि हात्ती दिन लागिएको यो पहिलोपटक हो । रासस











