काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुनकर्मीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले मुनकर्मीविरुद्ध २ करोड ५० लाख ३४ हजार रुपैयाँ बराबरको बिगो कायम गरेको छ ।
अख्तियारका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचार प्रकरणमा यसअघि नै ५ जना पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ । उक्त आयोजनासँग सम्बन्धित अनियमितताबारे थप अनुसन्धान तथा कारबाही प्रक्रिया निरन्तर अघि बढिरहेको आयोगले जनाएको छ ।














