काठमाडौं । नेकपा (एमाले)को एघारौँ महाधिवेशनमा मतदान सुरु हुनुअघि अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेल महाधिवेशन स्थलमा पुगेका छन् ।

दुवै जना काठमाडौँको भृकुटीमण्डपस्थित महाधिवेशनल स्थलमा पुगेका हुन्। मतदानको विषयमा छलफल गर्न ओली र पोखरेल सो स्थानमा पुगेका हुन् ।
उनीहरुबीच मतदान स्थलमा के कस्ता सामग्री लग्न दिने र नदिने भन्ने विषयमा छलफल गर्न लागिएको जनाइएको छ । एमाले महाधिवेशनमा मतदानको तयारी भइरहेको छ । आजै रातिदेखि मतदान सुरु गरिने एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
दुवै नेताले प्यानल नै बनाएका छन् । ओली पक्षबाट शङ्कर पोखरेल र ईश्वर पक्षबाट सुरेन्द्र पाण्डेय महासचिवका उम्मेदवार छन् ।
एमाले केन्द्रीय नेतृत्वका लागि ३ सय १ पदमा साढे ६ सयभन्दा बढी उम्मेदवार छन् । महाधिवेशनमा २ हजार २ सय ६३ मतदाता रहेका छन् ।
विद्युतीय भोटिङ मेसिनबाट मतदान हुने भए पनि धेरै उम्मेदवार रहेकाले मतदान सम्पन्न हुन कम्तीमा १० घण्टा लाग्ने भएको छ । मतदान सकिए लगत्तै मतगणना सुरु हुनेछ ।














