काठमाडौं । नयाँ नेतृत्व चयन र समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।

मङ्सिर २७ गतेबाट सुरु भएको एमाले महाधिवेशन बिहीबार औपचारिक रूपमा सम्पन्न भएको हो । काठमाडौंको भृकुटिमण्डपमा महाधिवेशन सम्पन्न हुनुअघि पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले अन्तिम मत परिणाम घोषणा गरेका थिए ।
अन्तिम मत परिणाममा केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी र २५/२५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी र सदस्यहरू निर्वाचित भएका छन् । त्यस्तै आयोगका अध्यक्ष डा विजय सुब्बासमक्ष नवनिर्वाचित पार्टी अध्यक्ष ओलीले सपथ ग्रहण गरेका थिए भने अध्यक्ष ओलीले अन्य पदाधिकारी तथा सदस्यलाई सपथ गराएका थिए ।
महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुकको चूनौतिलाई सामना गर्न पार्टीलाई बलियो ढङ्गले अघि बढाउने बताए । अहिले एमाले नेतृत्वमाथि चौतर्फी हमला गर्न खोजेको भन्दै उनले नेतृत्वलाई छोए देश ठप्प पार्ने चेतावनी दिए । अध्यक्ष ओलीले वर्तमान सरकार चुनाव गराउने म्याण्डेडबाट बाहिर गएको आरोप लगाए । उनले अदालतले राष्ट्रको जटिलतालाई मध्यनजर गर्दै संवैधानिक व्यवस्थामा देशलाई फर्काउन संसद् पुर्नस्थापना गर्ने विश्वास व्यक्त गरे ।
उनले निर्वाचन प्रचारप्रसारका लागि बनाइएको आचारसंहिताप्रति पनि आपत्ति जनाए । अध्यक्ष ओलीले जाँचबुझ आयोगको कामप्रति पनि असन्तुष्टी जनाउँदै अर्को आयोग बनाउन माग गरे । एमालेले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान सुरु गर्न गर्न आह्वान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ । यसैबीच एमालेले शुक्रवार दिउसो १ बजे पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आह्वान गरेको छ ।











