Logo
Logo

विष्णु रिमालले भने- प्रतिस्पर्धामा हार-जित स्वभाविक


693
Shares

काठमाडाैं। नेकपा (एमाले) का नेता विष्णु रिमालले ११औँ राष्ट्रिय महाधिवेशनमा भएको नेतृत्व चयनको परिणामलाई लोकतान्त्रिक अभ्यासको एक हिस्सा भएको बताएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको टीममा उपमहासचिव र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका उनी दुबै पदमा निर्वाचित हुन नसकेपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।

रिमालले ११औँ महाधिवेशन गरिमा, उत्साह र सामूहिक उपलब्धिको अनुभूतिसहित सफल भएको बताएका छन । आफू पराजित भए पनि पार्टीभित्रको प्रतिस्पर्धालाई उनले ’स्वाभाविक र स्वस्थ अभ्यास’ को संज्ञा दिएका छन् ।

साथै जनताको बहुदलीय जनवाद (जबज) को व्याख्या गर्दै नेता रिमालले प्रतिस्पर्धाबाट श्रेष्ठता स्थापित गर्नु नै पार्टीको मूल भावना भएको उल्लेख गरेका छन् ।

‘पहलकदमी लिनु, प्रतिस्पर्धालाई आत्मसात गर्नु, आफ्नो श्रेष्ठता स्थापित गर्नु र नेतृत्वको म्यान्डेट प्राप्त गर्नु नै जबजको मूल भावना हो,’ उनले भनेका छन्, ‘यही भावना अनुरूप मैले निर्वाचनको परिणामलाई आत्मविश्वास, संयम र प्रतिबद्धताका साथ स्वीकार गरेको छु ।’

पार्टीभित्र आफ्नो औपचारिक पद वा भूमिका परिवर्तन भए पनि पार्टी बनाउने साझा संकल्प र कमरेड्ली भावनामा कुनै परिवर्तन नआउने उनको भनाइ छ ।

आफूलाई सद्भाव राख्ने सुभेच्छुकहरूलाई धन्यवाद दिँदै उनले आगामी दिनमा पनि एउटै लक्ष्यका साथ पार्टी काममा सक्रिय रहने स्पष्ट पारेका छन् ।

ओलीले प्रस्ताव गरेको प्यानलमा रिमाल र एक उपाध्यक्ष बाहेक सबै निर्वाचित भएका थिए । रिमालको यो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा पराजयपछिको ‘धैर्यता र उच्च राजनीतिक संस्कार’ का रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्