Logo
Logo

म गलत थिइनँ भन्ने पुष्टि भयो : मिलन लिम्बू

हिजो हराउन खोज्ने लावती र थेगिम नै आज मिलनको सहयात्री !


3.8k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मिलन लिम्बूले इलाम उपनिर्वाचनका क्रममा आफ्नो राजनीतिक निर्णयमाथि प्रश्न उठाउनेहरू नै अन्ततः रास्वपामै समाहित हुनुले आफ्नो बाटो सही रहेको पुष्टि गरेको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै युवा नेता लिम्बूले विगतको पृष्ठभूमि र वर्तमान राजनीतिक ध्रुवीकरणको विश्लेषण गर्दै इलाम उपनिर्वाचनका बेला आफूलाई ‘पहिचान विरोधी’ कित्तामा उभ्याउन खोज्ने साथीहरू नै अहिले रास्वपाको अभियानमा जोडिनुलाई समयले दिएको न्यायका रूपमा चित्रण गरेका हुन् ।

‘पतन’ भन्नेहरू नै अहिले सहयात्री
लिम्बूले रास्वपा प्रवेश गर्दा आफूमाथि लागेका अनेकन् विशेषण र आलोचनाहरूको स्मरण गरेका छन् । उनले भनेका छन्, ‘म जुन आन्दोलनको जगमा थिएँ, सोही आन्दोलनका साथीहरूले मेरो निर्णयलाई ‘पतन’ भनेका थिए । पहिचानवादी मोर्चाको उम्मेदवारी मुख्यतः म र रास्वपा विरुद्ध लक्षित थियो ।’

विगतमा आफूलाई गलत मनोविज्ञानका आधारमा पहिचान विरोधी देख्ने नेतृत्व पंक्ति नै अहिले रास्वपामा समाहित भएको र त्यस प्रक्रियाको पहलकर्ता आफू स्वयं हुनुमा उनले खुसी व्यक्त गरेका छन् ।

साथै उनले आफूमाथि उठेका ‘म गलत थिएँ कि उहाँहरू ?’ भन्ने प्रश्नको जवाफ समयले नै प्रष्ट पारेको दाबी गरेका छन् ।
उनले भनेका छन्, ‘रास्वपाको नेतृत्वमा वैकल्पिक राजनीति रोज्ने निर्णय सही थियो । साँघुरो घेराबाट फराकिलो राजनीतिक उडान सम्भव छैन भन्ने वास्तविकता सबैले आत्मसात गरेका छन् । वर्तमानको आवश्यकतालाई नबुझी सुनिश्चित भविष्य तय गर्न सकिँदैन।’

आफ्ना पूर्वसहकर्मीहरूलाई ‘फराकिलो मैदान’मा स्वागत गर्दै उनले अबको बाटो ध्रुवीकरण र एकताको हुनुपर्नेमा जोड दिएका छन् । इतिहासको गौरवलाई वर्तमानको यथार्थसँग जोड्दै सुनिश्चित भविष्य निर्माणको महान यात्रामा लामबद्ध हुन उनले सबैलाई आह्वान समेत गरेका छन् ।

गत वर्ष सम्पन्न इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा लिम्बू रास्वपाका तर्फबाट उम्मेदवार बनेका थिए । त्यस समयमा आफूलाई ‘कट्टर पहिचानवादी’ का रूपमा उभ्याउँदै लिम्बूविरुद्ध मोर्चाबन्दी गरेका र उनलाई पहिचान विरोधीको आरोप लगाएका प्राध्यापक महेन्द्र लावती र स्वतन्त्र उम्मेदवार बनेका डकेन्द्र थेगिम लगायतको समूह नै साेमबार रास्वपामा समाहित भएको छ ।

त्यतिबेला लिम्बूलाई हराउन र उनको राजनीतिक कदमलाई ‘गलत’ साबित गर्न सक्रिय रहेको समूह नै अहिले एउटै झण्डामुनि आएपछि लिम्बूले यसलाई आफ्नो नैतिक जितका रूपमा लिएका छन् । उनले यस घटनाक्रमलाई ‘साँघुरो घेराबाट फराकिलो उडानतर्फको यात्रा’ भन्दै स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्