
मेस्सी गए । अब अर्जेन्टिनाले के गर्छ ? यो प्रश्न अहिले अर्जेन्टिनाको फुटबल वृत्तमा मात्रै होइन, संसारभरका फुटबल प्रेमी माझ सबैभन्दा ठूलो बनेको छ । किनभने लियोनेल मेस्सीको बिदाइसँगै एउटा सामान्य खेलाडी मात्रै राष्ट्रिय टोलीबाट बाहिरिएको छैन, अर्जेन्टिना फुटबलको एउटा स्वर्णिम युग नै समाप्त भएको छ । अर्जेन्टिना नयाँ युगमा प्रवेश गर्दै गर्दा १० नम्बर कसको काँधमा पुग्छ र मेस्सीबिनाको अर्जेन्टिनाको भविष्य कस्तो बन्छ ? आज हामी यसै विषयमा चर्चा गर्नेछौँ ।
मंगलबार राति रिभर प्लेटको प्रसिद्ध मोनुमेन्टल रंगशालामा बेनिनविरुद्ध खेल्दै मेस्सीले अर्जेन्टिनाका लागि आफ्नो २०८औँ तथा अन्तिम खेल खेले । खेलमा एक गोल गर्दै उनले नीलो र सेतो जर्सीबाट भावुक बिदाइ लिए । त्यस क्षण रंगशालामा उपस्थित सबैको आँखा रसाएको थियो ।
पज
मेस्सी अर्जेन्टिनाका लागि सबैभन्दा धेरै खेल खेल्ने र सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेर अन्तर्राष्ट्रिय फुटबलबाट अलग्गिसकेका छन् । राष्ट्रिय टोलीका लागि उनको नाममा १२६ गोल दर्ता छन् । उनकै कप्तानीमा अर्जेन्टिनाले ३६ वर्ष लामो उपाधि खडेरी तोड्दै तेस्रो पटक विश्वकप चुमेको थियो । उनले टोलीलाई लगातार दुई पटक कोपा अमेरिकाको उपाधि पनि दिलाए । यति मात्रै होइन, सन् २०२६ को विश्वकपमा शानदार खेल प्रदर्शन गर्दै ८ गोल गरेर टोलीलाई फाइनलसम्म पु¥याएका थिए । तर फाइनलमा स्पेनसँग पराजित भएपछि दोहोरिएर विश्वकप उचाल्ने उनको अन्तिम सपना भने अधुरै रह्यो ।
मेस्सीको बिदाइसँगै अब सबै समर्थक र विश्लेषकको ध्यान एउटै प्रश्नमा अडिएको छ–अर्जेन्टिनाको त्यो ऐतिहासिक र प्रतिष्ठित ‘१० नम्बर’ जर्सी अब कसको काँधमा जाला ? अर्जेन्टिनाका लागि १० नम्बर जर्सी कपडामा छापिएको एउटा सामान्य अंक मात्रै होइन । यो त मारियो केम्पस, डिएगो म्याराडोना र लियोनेल मेस्सीजस्ता महान् खेलाडीहरूले आफ्नो पसिनाले कोरेको महान् विरासत हो । त्यसैले अब त्यो जर्सी जसले लगाए पनि उसमाथि एउटै गम्भीर प्रश्न तेर्सिनेछ– ‘के तिमी मेस्सीको ठाउँ लिन सक्छौ?’
इतिहास पल्टाएर हेर्ने हो भने अर्जेन्टिनाका लागि १० नम्बर जर्सीको रूपान्तरण कहिल्यै सहज बनेको छैन । सन् १९९४ मा डिएगो म्याराडोनाले अन्तर्राष्ट्रिय खेलजीवनबाट बिदा लिएपछि अर्जेन्टिनाले उनको स्थान पूर्ति गर्ने खेलाडी खोज्न वर्षौँसम्म ठूलो संघर्ष गर्नुपरेको थियो । पाब्लो आइमार, एरियल ओर्तेगा र जुआन रोमन रिक्वेल्मेजस्ता अत्यन्तै प्रतिभाशाली खेलाडीहरूले म्याराडोनापछिको १० नम्बर जर्सी नलगाएका होइनन् । तर उनीहरूले म्याराडोनाको मैदानभित्रको प्रभाव र समर्थकहरूको विशाल अपेक्षालाई पूर्ण रूपमा धान्न सकेनन् ।
सन् २००५ मा जब एक दुब्लो–पातलो तन्नेरी मेस्सीले राष्ट्रिय टोलीमा डेब्यु गरे, तब म्याराडोनाको त्यो विशाल विरासत सम्हाल्ने अर्को नायक भेटिएको विश्वास गर्न समर्थकलाई निकै समय लागेको थियो । सन् २००९ मा रिक्वेल्मेले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि मेस्सीले औपचारिक रूपमा १० नम्बर जर्सी सम्हाले । सुरुका दिनमा टोलीमा सोचेजस्तो सफलता नमिल्दा उनले कडा आलोचना र दबाब बेहोर्नुपरेको थियो । तर मेस्सीले समयसँगै आफूलाई प्रमाणित गरे र अर्जेन्टिनाका इतिहासकै सबैभन्दा सफल र प्रिय नायक बने ।
अहिले फेरि अर्जेन्टिना त्यही इतिहासको दोबाटोमा उभिएको छ । सबैले एउटै कुरा सोधिरहेका छन्– के अब त्यो जर्सीको विशाल भार उचाल्न सक्ने अर्को दाबेदार टोलीमा तयार छ त ? मेस्सीपछि त्यो १० नम्बर कसले लगाउला ? मेस्सीजस्तै खेललाई नियन्त्रण गर्ने र टोलीलाई सम्हाल्ने मुख्य प्लेमेकर को बन्ला ?
अहिले अर्जेन्टिनाको टोलीमा १० नम्बर जर्सीको दाबेदारका रूपमा पाँच जना युवा खेलाडीको नाम सबैभन्दा धेरै चर्चामा छ । ती हुन्– जुलियन अल्भारेज, निको पाज, लाउटारो मार्टिनेज, फ्रान्को मास्टान्टुओनो र थियागो अल्माडा ।
यीमध्ये सबैभन्दा भरपर्दो विकल्प मानिएका छन् जुलियन अल्भारेज । २६ वर्षका अल्भारेज अहिले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका मुख्य खेलाडी हुन् । मेस्सी चोटका कारण वा विश्राममा रहँदा उनले नै अर्जेन्टिनाको अग्रपंक्ति सम्हाल्दै आएका थिए । सन् २०२६ को विश्वकप छनोट अभियानमा उनले टोलीका लागि सात गोल समेत गरेका थिए । म्यानचेस्टर सिटीबाट खेल्दा एकै सिजन ट्रेबल जित्ने टोलीका महत्त्वपूर्ण सदस्य बनेका अल्भारेज अहिले एट्लेटिकोमा पनि उत्तिकै प्रभावशाली छन् ।
तर यहाँ एउटा मुख्य कुरा बुझ्नुपर्छ– अल्भारेज मेस्सी होइनन् । उनको मुख्य शक्ति भनेको गोल गर्नु, विपक्षी रक्षकलाई व्यस्त बनाउनु र आक्रमणलाई गति दिनु हो । मेस्सी भने गोलकर्ता मात्रै थिएनन् । उनी त खेल बनाउने, उत्कृष्ट पास निकाल्ने, विपक्षीको कडा रक्षापंक्ति चिर्ने र एकै क्षणमा खेलको नक्सा बदलिदिने खेलाडी थिए । त्यसैले अल्भारेज १० नम्बर जर्सीका लागि सबैभन्दा सहज विकल्प भए पनि मेस्सीको शैलीका पूर्ण उत्तराधिकारी भने बन्न सक्दैनन् ।
यसपछिका दोस्रो दाबेदार हुन् निको पाज । २२ वर्षका पाजलाई सम्भावित उत्तराधिकारीहरूमध्ये मेस्सीको खेल्ने शैलीसँग सबैभन्दा नजिक मानिन्छ । मेस्सीजस्तै बायाँ खुट्टाले खेल्ने पाज बल नियन्त्रण, सटीक पास, ड्रिब्लिङ र खेल निर्माणमा निकै पोख्त छन् । उनी मैदानमा जुनसुकै बेला अवसर सिर्जना गर्न सक्छन् र विपक्षीको रक्षापंक्तिलाई एक्लै अस्तव्यस्त बनाउन सक्छन् ।
राष्ट्रिय टोलीमा भने पाजले अहिलेसम्म आफ्नो पूरा क्षमता देखाउने धेरै मौका पाएका छैनन् । अर्जेन्टिनाका लागि १३ खेल खेल्दै तीन गोल गरेका उनी विश्वकपमा पनि सीमित समय मात्र मैदान छिरेका थिए । मेस्सीजस्तै लेफ्टी भएकाले मेस्सी टोलीमा रहँदासम्म उनले सुरुवाती ११ मा खेल्ने अवसर कमै पाए । पाज सानैदेखि अद्भुत क्षमता भएका खेलाडी हुन् । त्यसैले त रियल म्याड्रिडजस्तो विश्वकै ठूलो क्लबले उनलाई भावी स्टारका रूपमा भित्र्याएको थियो । तर स्टारै स्टारले भरिएको म्याड्रिडमा युवा खेलाडीले पर्याप्त समय पाउन गाह्रो हुन्छ । त्यसैले सन् २०२४ मा उनी म्याड्रिड छाडेर इटालीको कोमो पुगे । उनी अहिले कोमोका प्रमुख खेलाडी हुन् र क्लबको १० नम्बर जर्सी पनि उनैले लगाउँछन् । पाजमा प्रतिभा छ, आत्मविश्वास छ र खेल बुझ्ने क्षमता छ । मेस्सी स्वयंले पनि उनको प्रतिभाको तारिफ गरिसकेका छन् । तर समस्या एउटै छ– पाजसँग अझै राष्ट्रिय टोलीको ठूलो मञ्चमा खेलेको खासै अनुभव छैन ।
तेस्रो नाम हो– लाउटारो मार्टिनेज । अर्जेन्टिनाको अग्रपंक्तिका भरपर्दा खेलाडी लाउतारो मार्टिनेज मेस्सीपछिको पुस्ताको नेतृत्व गर्ने प्रमुख दाबेदार हुन् । गोल गर्ने क्षमता, ठूला खेलमा प्रभाव पार्ने शैली र राष्ट्रिय टोलीसँगको लामो अनुभवका कारण उनलाई पनि १० नम्बरको जिम्मेवारी दिन सकिन्छ । लाउतारो अर्जेन्टिनाका लागि नयाँ नाम होइनन् । मेस्सीसँगै खेल्दै उनले राष्ट्रिय टोलीमा आफ्नो बलियो स्थान बनाएका छन् । कोपा अमेरिकादेखि विश्वकपसम्मका ठूला मञ्चहरूमा अर्जेन्टिनाको आक्रमण सम्हाल्न उनले महत्त्वपूर्ण भूमिका खेलेका छन् । उनी इटालियन क्लब इन्टर मिलानका प्रमुख खेलाडी हुन् र क्लबमा पनि यही १० नम्बरकै जर्सी लगाउँछन् । गत सिजनमा उनी सिरि एका सर्वाधिक गोलकर्ता समेत बनेका थिए । त्यसैले मेस्सीपछि टोलीको गोलको जिम्मेवारी बोक्ने मुख्य खेलाडीका रूपमा उनको नाम अगाडि आउँछ ।
त्यस्तै १० नम्बर जर्सीमा लगाउने सम्भावित खेलाडीको रुपमा फ्रान्को मास्टान्टुओनोलाई पनि लिन सकिन्छ । उनको उमेर अहिले जम्मा १९ वर्ष मात्र भयो । तर उनको चर्चा भने विश्व फुटबलमै निकै चुलिएको छ । रिभर प्लेटको एकेडेमीबाट निस्किएका मास्टान्टुओनो गत वर्ष ४ करोड ५० लाख युरोको ठूलो रकममा रियल म्याड्रिड पुगेका थिए । स्पेनमा उनको पहिलो सिजन सोचेजस्तो सहज र सफल हुन सकेन । उनले ला लिगामा २३ खेल मात्र खेल्न पाए। क्लबभित्रको अस्थिरता र प्रशिक्षक परिवर्तनले उनलाई अनुकूल वातावरण दिएन ।
त्यसपछि अगस्टमा उनी इटालीको फियोरेन्टिनामा ऋणमा गए । त्यहाँ पुगेपछि भने उनको सुरुवात निकै लोभलाग्दो रह्यो । मेस्सीसँग उनको खेल्ने शैलीमा धेरै समानता छ । दायाँतर्फबाट खेल सुरु गर्ने, बल नियन्त्रण गर्दै भित्र छिर्ने, साँघुरो ठाउँमा पनि उत्कृष्ट ड्रिब्लिङ गर्ने र गोलका अवसर बनाउने उनको बानी छ । रोचक कुरा मास्टान्टुओनोले अर्जेन्टिनाका लागि १० नम्बर जर्सी लगाइसकेका छन् ! इक्वेडरविरुद्धको विश्वकप छनोट खेलमा उनले १० नम्बर लगाउँदा म्याराडोनापछि अर्जेन्टिनाका लागि सो जर्सी लगाउने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए । दीर्घकालीन भविष्यका हिसाबले हेर्ने हो भने मास्टान्टुओनो १० नम्बरका लागि निकै बलियो विकल्प हुन् । तर भर्खरै १९ वर्ष पुगेका युवाको काँधमा मेस्सीको जर्सी र टोलीको सम्पूर्ण जिम्मेवारी एकैपटक थिच्नु अलि जोखिमपूर्ण हुन सक्छ ।
चौथो दाबेदार हुन्– थियागो अल्माडा । २५ वर्षका अल्माडा सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिनी टोलीका सदस्य हुन् । उनीसँग अट्याकिङ मिडफिल्डरदेखि विङ्गरसम्म जुनसुकै भूमिकामा खेल्न सक्ने क्षमता छ । अमेरिकाको एटलान्टा युनाइटेडमा रहँदा उनले आफ्नो उत्कृष्ट क्षमता देखाएका थिए । तर युरोपेली फुटबलमा भने उनको यात्रा सोचेजति सहज रहेन । फ्रान्सको लियोनमा ऋणमा रहँदा उनले अपेक्षित छाप छाड्न सकेनन् । एट्लेटिको म्याड्रिडमा पनि उनले नियमित खेल्ने मौका पाएनन् । तर, मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले उनलाई लामो समयदेखि विश्वास गर्दै आएका छन् । त्यसैले उनलाई पनि १० नम्बरको दौडबाट पूर्ण रूपमा बाहिर राख्न मिल्दैन । यद्यपि, अघिल्ला चार जनाको तुलनामा उनी यो दौडमा केही पछाडि भने पक्कै देखिन्छन् ।
अब मुख्य प्रश्न उठ्छ– के अर्जेन्टिनाले मेस्सीको अर्को विकल्प वा दुरुस्तै रूप खोज्नुपर्ने हो ? उत्तर हो– पक्कै पनि होइन । किनभने मेस्सी केवल एक खेलाडी मात्र थिएनन् । उनी त अर्जेन्टिनाको सम्पूर्ण आक्रमण, सिर्जनात्मकता, गोल, नेतृत्व र निर्णय क्षमताका मुख्य केन्द्र थिए । यी सबै विशाल जिम्मेवारी एउटै नयाँ खेलाडीको टाउकोमा हाल्ने प्रयास गर्नु आफैँमा अव्यावहारिक र अन्यायपूर्ण हुन्छ ।
अर्जेन्टिनाका अगाडि चुनौती यतिमै सकिँदैन । अनुभवी रक्षक निकोलस ओटामेन्डीले पनि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिइसकेका छन् । गोलरक्षक एमिलियानो मार्टिनेज, लिएन्द्रो पारेडेस र निकोलस ताग्लियाफिको जस्ता खेलाडीहरू पनि करिअरको अन्तिम मोडमा छन् । टोलीका भरपर्दो खम्बा रोड्रिगो डे पाउल र जियोभानी लो सेल्सो ३० वर्ष पार गरिसकेका छन् । अझ मुख्य कुरा त, टोलीलाई सफलताको शिखरमा पु¥याउने प्रशिक्षक लियोनेल स्कालोनीको सम्झौता पनि आगामी डिसेम्बरमा सकिँदै छ ।
यसको अर्थ हो– अर्जेन्टिना अहिले केवल ‘मेस्सीपछिको १० नम्बर जर्सीको हकदार’ मात्र खोजिरहेको छैन । एकैसाथ नयाँ टोली, नयाँ नेतृत्व र नयाँ पहिचानको खोजीमा छ । १० नम्बरको जर्सी अल्भारेजले लगाउलान्, पाजले लगाउलान्, लाउटारो मार्टिनेज लगाउलान्, मास्टान्टुओनोले लगाउलान् वा अल्माडाले, यो कुरा केही समयपछि पक्कै प्रस्ट हुनेछ । तर जर्सी कसले लगायो भन्नेभन्दा पनि ठूलो प्रश्न हो– अब मेस्सीबिनाको अर्जेन्टिना मैदानमा कस्तो देखिन्छ ? मेस्सीको ठाउँ त संसारको कुनै पनि खेलाडीले लिन सक्दैन । तर मेस्सीको युग सकिएपछि अर्जेन्टिनाले फुटबलमा एउटा नयाँ र सुन्दर कथा भने पक्कै लेख्न सक्छ । अब त्यो नयाँ कथा केवल १० नम्बर जर्सीले होइन, सिंगो टोलीले मैदानमा देखाउने प्रदर्शनले लेख्नेछ ।













