Logo
Logo

‘नातावाद’ को चर्चाबीच रास्वपाको समानुपातिक सूचीमा टासी लाक्पा नबस्ने


882
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवार सूचीमा परेका पर्वतारोही टासी लाक्पा शेर्पाले नाम फिर्ता लिन चाहेको बताएका छन् ।

फोर्टिन पिक्स एक्सिपिडिसनका सीईओ समेत रहेका उनले सामाजिक सञ्जालमार्फत दलगत राजनीतिमा रुचि नराख्ने र आफ्नै कर्ममार्फत् देशको लागि सक्दो योगदान दिने भन्दै निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीबाट नाम फिर्ता लिन चाहेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘मलाई पनि प्रतिनिधिसभा सदस्यको लागि समानुपातिकमा मेरो नाम छनोट गर्नु भएकोमा धन्यवाद । तर म दलगत राजनीतिमा रुचि नराख्ने भएकाले मेरो नाम सूचीबाट फिर्ता लिन चाहन्छु ।’

उनले थप लेखेका छन्, ‘म सधैं मेरो देशको उन्नतिका लागि आफ्नै तरिकाले सहयोग गर्न प्रतिबद्ध रहनेछु र म एक साधारण नागरिकको रूपमा आफ्नो कर्ममार्फत देशको लागि सक्दो योगदान दिनेछु ।’

उनले आगामी निर्वाचनमा सम्पूर्ण राजनीतिक दल तथा योग्य उम्मेदवारहरूलाई शुभकामना पनि दिएका छन् । टासी मिङ्मा शेर्पाका भाइ हुन् । मिङ्मा केही दिन अघि औपचारिक रुपमा रास्वपा प्रवेश गरेका थिए । दाजु रास्वपामा प्रवेश गरेर भाषण गरेको भिडियो सेयर गर्दै टासीले उनको राजनीतिक सफलताको शुभेच्छा समेत व्यक्त गरेका थिए ।

रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा नातावाद, कृपावाद र परिवारवाद हाभी भएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ । पार्टीभित्रैबाट पनि प्राइमरी इलेक्सनले धज्जी उडाइएको भन्दै आलोचना भएपछि सभापति रवि लामिछानेले त्यसलाई सच्याइने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्