Logo
Logo

लेखन यात्राबाट चीन पुग्दा


0
Shares


… … अन्य कामबाट विश्राम लिएपनि लेखन यात्राबाट भने विश्राम लिएकी थिइन । समयको आँखाले देख्यो भनुँ या शुभचिन्तक मित्रहरु पनि कमाएको रहेछु , एक दिन मैले चिताउँदै नचिताएको जिम्मा पाएँ – नेपाल प्रज्ञा प्रतिष्ठानको परिषद सदस्यका रूपमा नियुक्ति ।

लेखन कर्मको निरन्तरता साथसाथै लोकतान्त्रिक आन्दोलनमा पनि सरिक भइरहेकी थिएँ । आन्दोलनको सफलतापछि त्यो बेलाको ’राजकीय नेपाल प्रज्ञा–प्रतिष्ठान’ ’नेपाल प्रज्ञा–प्रतिष्ठान’ बन्यो । जनताका छोरा कवि वैरागी काइँला कुलपति बन्नु भयो । परिषद सदस्य मध्ये एक म पनि बन्न पुगेँ । पुरानो प्रज्ञा प्रतिष्ठानमा कहिल्यै नभएको मातृभाषा विभाग गठन भयो – मातृभाषा साहित्यको संरक्षण तथा विस्तार गर्ने उद्देश्यका साथ । र विभागीय प्रमुखका रूपमा त्यो जिम्मा मेरो काँधमा आइप¥यो ।

त्यो जिम्मा बोक्दै देशका विभिन्न भागहरुमा गएर मातृभाषाको संरक्षणको निम्ति काम गर्ने अवसर मिल्यो । छिमेकी देशहरुमा पनि गएर साहित्यिक आदान–प्रदान र सहकार्यका लागि कर्मक्षेत्रलाई अझै फराकिलो गर्ने काममा पनि सहभागी हुन पाइयो । भारतको ’साहित्य एकेडेमी’ र आसामका साहित्यकारहरूको निमन्त्रणामा गएर त्यहाँका विद्वान कविहरूसँगै कविता पाठ गर्ने, सम्मान ग्रहण गर्ने र आपसी सहयोगको निम्ति वातावरण बनाउने अवसर पनि मिल्यो ।

त्यस्तै उत्तरको छिमेकी मित्रराष्ट्र चीनको ’राइटर एसोसिएशन’को निम्तोमा नेपाल प्रज्ञा–प्रतिष्ठानको छ सदस्यीय प्रतिनीधि मण्डलमा सामेल भएर चीनमा फेरि एकपल्ट पुग्ने अवसर मिल्यो तत्कालिन कुलपति वैरागि काइँला, कथाकार प्राज्ञ भाउपन्थि , प्राज्ञ विष्णु प्रभात, प्राज्ञ सञ्जिता वर्मा र म सँगै प्रतिष्ठानकी एक कुशल प्रशासनिक अधिकारी चित्रा ठकुरी पनि हुनुहुन्थ्यो । यो सन् २०१३ अक्टोबरको कुरा हो । त्यतिबेला चीनका समकक्षी मित्र तथा अन्य अधिकारीले हाम्रो साहित्यिक टोलीलाई विशेषै किसिमले सम्मानपूर्वक स्वागत गर्नु भएको थियो । त्यसैले पनि त्यो यात्रा अविस्मरणीय भएको थियो ।

चीनमा पहिले हुँदा एक आमा, श्रीमति र विद्यार्थीको मिश्रित भूमिकामा लामै समय बिताएकी मेरा निम्ति त झन् विशेष लाग्ने नै भयो । मेरो निम्ति यो दोस्रो पटकको चीन प्रवेश थियो । सन् १९९१मा चीनबाट देश फर्केपछि बीचमा कहिल्यै फर्केर जान नपाएको चीनमा दुईदशक पछि अर्कै हैसियतमा फर्किन पाउँदा म ज्यादै खुसी र उत्साहित थिएँ ।

पुगिसकेपछि चीनको प्रगति देखेर म आश्चर्यचकित नै भएँ । उहिलेको अवस्था र अहिलेको अवस्थामा आकाश जमिनको फरक थियो । र मेरै अवस्था पनि त्यो बेलाको भन्दा फरक भएको थियो । चीन जाने तयारीकै क्रममा त्यो अनुभव भइसकेको थियो– पासपोर्ट बनाउन होस् वा भिसा लगाउन आफै दौडा दौड गर्नु परेन, टिकटको जोहो आफैले गर्नु परेन । पहिलो पल्ट चीन जान भनेर १५ हजार रूपैयाँ जुराउन कतिजनासँग मद्दत माग्नु परेको थियो भनेर झलझली सम्झिएँ । बाटोमा पाएको अनावश्यक दुःखको कथा त छँदै छ । साधारण नागरिक हुनुभन्दा कुनै राष्ट्रिय प्रतिष्ठानको प्रतिनीधित्व गरेर जानुको फरक अनुभव गरेँ । आफ्नै जीवनका विभिन्न परिस्थितिका बीच तुलना गर्ने अवसर पनि मिल्यो ।

सुरुमा जाँदा आफ्नो मान्छे भेट्न साथमा बच्चापनि लिएर एउटी गरीब गृहिणी भएर गएकी थिएँ र मौकाले विद्यार्थी हुन पाएकी थिएँ । यसपाली भने एउटी लेखक र प्राज्ञका रूपमा सगर्व पुगेँ । एयरपोर्टदेखि नै भिआईपि बस्ने कक्षमा ठाउँ मिलेको थियो । आफूले पढेको चीनियाँ भाषा धेरै बिर्सिसकेको भएपनि अझै अलिअलि चीनियाँ बोल्न अझै सक्थेँ । त्यसले गर्दा आफ्नो टोलीमै पनि मेरो अवस्था अलि बेग्लै भएको थियो । ल्हासा भएर पइचिङ जाने कुराले म थप उत्साहित थिएँ । तर ल्हासामा धेरै बेर बस्न भने पाइएन । “पुगेँ“ भन्ने सम्म मात्रै भयो । पइचिङमा पाएको स्वागत र बस्न पाएको होटलको उत्कृष्टता आफ्नै ठाउँमा छ ।

एउटै जगत र उही मान्छेबीचको अन्तरक्रिया र अन्तरसम्बन्ध पनि समयसँगै बदलिँदो रहेछ । उहिलेको चीन र यतिबेलाको चीन पनि आकाश जमिनको फरक भइसकेको बेलामा मलाई चीन हैन अर्कै दुनियाँमा पुगेको जस्तो अनुभव भयो । उहिल्यै पाँचवर्ष चीन बस्दा लेखेका लेखहरू विभिन्न देशमा पुगेपनि चीनका प्रतिष्ठित साहित्यकारहरुसँग कहिल्यै परिचय हुन सकेको थिएन । कुनैबेला पत्रकारहरुसँग भने भेट हुने गथ्र्यो । चीनकै पत्रिकामा पनि लेख त छापिएको थियो । तर विश्वविद्यालयभित्रका साहित्यप्रेमी चीनियाँ मित्र र सौखिन सर्जक बाहेकका शहरकै प्रतिष्ठित साहित्यकारसँग पनि कहिल्यै सम्पर्क हुन सकेको थिएन ।

यसपटकको चीन भ्रमणमा भने नेपाल प्रज्ञा–प्रतिष्ठानबाटै गएको साहित्यिक प्रतिनीधि मण्डलको सदस्यका रूपमा चीनको सबैभन्दा ठुलो लेखक संघका मुख्य पदाधिकारीहरुसँगै विभिन्न कार्यक्रममा सहभागिता जनाउनुको साथै नेपाल तथा चीनका लेखकहरुबीच सिर्जनात्मक तथा अन्य ठोस सहकार्यका निम्ति एउटा औपचारिक सहमति नै गर्ने काममा सहभागि हुनु परेको थियो । पछि रेडियोमा पनि एउटा अन्तरवार्ता दिनु प¥यो – उहिले र अहिलेको चीन देख्दाको अनुभूतिका बारे बोलेकी थिएँ ।

हामी गएका बेला चीनको निम्ति नेपाली राजदूत डा. महेश मास्के हुनुहुन्थ्यो । सरोजको मिल्ने साथी पनि भएकोले उहाँबाट पनि स्वाभाविक रूपमा विशेष सौहाद्र्रता पायौँ । राजदूतावास हेर्न पनि गयौं । सुरु देखि नै हामीलाई पइचिङ घुमाउन लाने क्रममा दुईजना गाइड र दोभाषेहरु पनि थिए । तीमध्येकी एक मिस चाङ नेपालमा नेपाली पढेर फर्केकी भएर उनको नेपाली भाषा राम्रो थियो । संयोग कस्तो परेछ भने उनी त्रिभुवन विश्वविद्यालयमा हुँदा उनको एउटा अनुवाद मूल्याङ्कनका निम्ति मलाई पनि निम्त्याइएको रहेछ । यो कुरा उनले सम्झिराखेकी रहिछन् । यसले गर्दा उनीसँगै गफ गर्दै हिँड्न झनै सजिलो भयो ।

अर्को दिन हामीलाई ग्रेटवाल घुमाउन लगे । चीनको पइचिङमै पुगिसकेपछि ग्रेटवाल नहेरी फर्किँदा त भ्रमण नै अधुरो जस्तो हुन्छ जस्तो लाग्छ । हामी सबै गयौँ । तर पर्खालमा उकालै चढ्ने भने वैरागी काइँला सर र म मात्रै भयौँ । वैरागी सरको नेपाली टोपि लगाएको फोटो मैले नै खिचिदिएकी थिएँ । उमेरले सबैभन्दा पाको भएपनि उहाँ बडो उत्साहित भएर चढ्नु भएको थियो । मेरो निम्ति यो तेस्रो पटकको ग्रेटवाल चढाई थियो । ग्रेट वाल त उही नै थियो । तर पहिलेभन्दा धेरै फरकजस्तो लाग्यो त्यो पनि । किन हो अरु साथीहरूलाई भने पर्खाल चढ्ने रहरै जागेन ।

त्यसपछि चीनियाँ मित्रहरूले हामीलाई सि–आन घुमाउन पनि लगे । त्यहाँ पुग्दा त झनै अचम्म लाग्यो । ऐतिहासिक नगरी भएपनि सि–आन भन्ने बित्तिकै त्यहाँको धूलो र अस्तव्यस्तताको सम्झना हुन्थ्यो । अहिलेको सिआन हेर्दा पत्याउनै गाह्रो भयो । दशौंगुना परिवर्तन भइसकेको थियो… ।

प्रतिक्रिया दिनुहोस्