
काठमाडौं । पोखरामा आज पुस १८ देखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको पोखरा ग्रिड महाशाखाअन्तर्गत रहेको कुँडहर सबस्टेसनमा चार दिनसम्म बिहान ६ देखि ११ बजेसम्म ‘बसबार’ स्तरोन्नति कार्य सुरु हुने भएकाले पोखराको अधिकांश क्षेत्रमा बिजुली काटिने भएको हो ।
कुँडहर सबस्टेसनको एक सय ३२ केभीको बसबार मर्मतका लागि प्राधिकरणले ठेक्का आह्वान गरेको थियो । सोहीअनुसार आजदेखि मर्मत कार्य हुने पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए ।
उनले भने, ‘यसबाट कुँडहर ग्रिडबाट आपूर्ति हुने सबै फिडरहरू सटडाउन हुनेछन् । हामीले सोहीअनुसार सूचना गरेका छौँ ।’
पोखरा प्रवेशको विजयपुरबाट यता हरिचोकसम्मको सम्पूर्ण क्षेत्रमा विद्युत् नआउने पोखरा वितरण केन्द्रले जनाएको छ । तोकिएको समभन्दा अगावै मर्मतकार्य सकिएकामा भने केही छिटो बिजुली आउनेसमेत बताइएको छ।
सबस्टेसनको बसबार मर्मत सकिएपछि भने नियमित विद्युत् आपूर्ति हुने पोखरा वितरण केन्द्रले जनाएको छ । पोखरालाई ताररहित बनाउन आग्रह पोखरा महानगरपालिकाले पोखराको बजार क्षेत्रलाई ताररहित बनाउने योजनामा सहकार्यका लागि इन्टरनेट सेवा प्रदायकहरूसँग आग्रह गरेको छ ।
विद्युत् प्राधिकरणले अघि बढाएको पोखराको २३ किमी क्षेत्रमा विद्युत् तार भूमिगत गर्ने योजनाअनुसार अधिकांश स्थानमा एकीकृत रूपमा बिजुली, टेलिफोन र इन्टरनेटसमेतलाई भूमिगत गर्ने सम्भावनाबारे महानगरपालिकाले छलफल अघि बढाएको हो।
महानगरले इन्टरेनट सेवा प्रदायकहरूसँग छलफल गरी बिजुलीलगायतका पोलहरूमा अव्यवस्थित रूपमा रहेका अनावश्यक तार तत्काल हटाउन पनि आग्रह गरेको छ ।
नगरप्रमुख धनराज आचार्यले सेवा प्रदायकहरूलाई यथाशक्य छिटो विद्युत् प्राधिकरणसँग समन्वय गरी सेवामा सहकार्य गर्न आग्रह गरेका छन् ।












