Logo
Logo

सभापति भर्सेस महामन्त्रीबीचको लडाइँले कांग्रेस संकटमा


2k
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक कलहले उग्र रूप लिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको सहमतिविनै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको प्रक्रियामा अघि बढेपछि कांग्रेसभित्रको कलह उत्कर्षमा पुगेको हो ।

सभापति र महामन्त्रीद्वयका आआफ्नै अडानले पार्टी विभाजनको सँघारमा पुगेको विश्लेषण गर्न थालिएको छ । महामन्त्रीद्वय थापा र शर्माको अगुवाइमा बिहीबार महाराजगञ्जमा बसेको बैठकले आगामी पुस २७ र २८ गते भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । थापा र शर्माले बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै पूर्वघोषित नियमित महाधिवेशन स्थगित भएको दाबी गरेका छन् ।

पार्टी विधानको धारा १७ (२) को व्यवस्थालाई टेक्दै विशेष महाधिवेशनको बाटो रोजेको यो समूहले भृकुटीमण्डपमा हल समेत बुकिङ गरिसकेको छ । यसअघि गत असोज २९ गते नै ५४ प्रतिशत सदस्यहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो ।

कांग्रेसले यसअघि पुस २६ गतेदेखि १५ औं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तरः क्रियाशील सदस्यता नवीकरण र वितरणको काम ठप्प छ । त्यस्तै पूर्वनिर्धारित वडा र पालिका अधिवेशनहरू भएका छैनन् । जसकारण संस्थापन पक्षले महाधिवेशन सार्ने वा प्रक्रिया अघि बढाउने विषयमा मौनता साधेपछि बाध्य भएर विशेष महाधिवेशनको बाटो रोज्नुपरेको महामन्त्री पक्षको तर्क छ ।

संस्थापन पक्षले भने चुनावको मुखमा विशेष महाधिवेशन हुनै नसक्ने अडान लिएको छ । ‘महामन्त्रीद्वयले पार्टीभित्र अनावश्यक विवाद सिर्जना गरेर आफ्नो पदीय जिम्मेवारीबाट पन्छिन खोजेको’ आरोप संस्थापन पक्षको छ । सभापति देउवाले कुनै पनि हालतमा विशेष महाधिवेशन हुन नदिने संकेत दिइसकेका छन् ।

यता, नेता शेखर कोइराला पक्षले भने विशेष महाधिवेशनले पार्टी विभाजनको खतरा निम्त्याउन सक्ने भन्दै सावधानीपूर्वक अघि बढ्न सुझाव दिएको छ । पार्टीभित्र विवाद उत्कर्षमा पुगेकै बेला आज दिउँसो केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा १५औँ महाधिवेशन र समसामयिक राजनीतिबारे छलफल हुनेछ ।

विवाद मिलाउने अन्तिम प्रयास स्वरूप महामन्त्री शर्माले सभापति देउवालाई भेटेर विशेष महाधिवेशनको उद्घाटनका लागि निमन्त्रणा दिने तयारी गरेका छन् । अर्का महामन्त्री गगन थापा भने महाधिवेशनको प्रतिवेदन लेखनका लागि धुलिखेल पुगिसकेका छन् ।

यता विशेष महाधिवेशन पक्षधर समूहले आज बिहान ११ बजे पत्रकार सम्मेलन गर्दैछन् भने भोलि महामन्त्रीद्वयले विशेष पत्रकार सम्मेलन बोलाएका छन् । यी घटनाक्रमले लामो इतिहास बोकेको नेपाली कांग्रेस अहिले नीतिगत र नेतृत्वदायी संकटको ‘निर्णायक मोड’ मा उभिएको छ ।

प्रतिक्रिया दिनुहोस्