भैरहवा । जेन्जी आन्दोलनपछि बन्द भएको सिमावर्ती क्षेत्रमा पुनः विभिन्न आपराधिक गतिविधि सुरु भएको छ । सिमावर्ती क्षेत्रमा हुने प्रहरीका गलत गतिविधिलाई रुपन्देहीका केही स्थानमा बढावा दिइँदै आएको आरोप लागेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले समेत यस्ता गलत कार्यलाई मौन समर्थन गरेको बुझिएको छ ।

प्रहरी प्रधान कार्यालयले सीमा नाकामा मात्र चेकजाँच गर्न निर्देशन दिए पनि त्यसको अवज्ञा गर्दै जिल्लाका विभिन्न स्थानमा ट्राफिक चेकजाँचको नाममा सवारी चालकलाई दुःख दिने गरेको गुनासो बढेको छ ।
जेन्जी आन्दोलनअघि रुपन्देहीका सडकमा चेकजाँचको नाममा असुली चल्दै आएको थियो । केही महिनासम्म रोकिएको उक्त गतिविधि पछिल्लो समय पुनः निरन्तरता पाएको देखिन्छ ।
ट्राफिक प्रहरीले सडकमा चेकपोस्ट खडा गरी बेलहिया–बसन्तपुर सडक, बेलहिया–भैरहवाको डण्डा, रोहिणीको धकधई तथा भैरहवाको अञ्चलपुर क्षेत्रमा नियमित चेकजाँचको नाममा भारतीय ट्रक तथा सवारी साधनबाट अवैध असुली गर्ने गरेको भारतीय चालकहरूको भनाइ छ ।
भैरहवा भन्सार नजिकको चार किलोमिटर क्षेत्रभित्र झन्डै ४–५ स्थानमा भारतीय सवारी साधनको चेकजाँच गरिनु गलत भएको भन्दै भारतीय पक्षले समेत विरोध गर्दै आएको भारतीय चालक संजय कुमारले बताए ।
कपिलवस्तुको कृष्णनगर र सुठौली भन्सार हुँदै रुपन्देही तथा अन्य जिल्लातर्फ जाने ट्रकहरूबाट रुपन्देही ट्राफिकले लुम्बिनी, बेथरी र धकधई क्षेत्रमा असुली गर्ने गरेको ढुवानी व्यवसायीहरूको आरोप छ । एउटै ट्रक वा भारतीय सवारी साधनलाई ओभरलोड तथा विभिन्न बहानामा पटक–पटक चेकजाँच गरी नियमित असुली गर्ने गरिएको उनीहरूको गुनासो छ ।
यी क्षेत्रबाहेक सालझण्डी, मुर्गिया, बुटवलको राजमार्ग चौराहा तथा देवदह क्षेत्रमा समेत एउटै भारतीय ट्रकबाट पटक–पटक चेकजाँचको नाममा असुली हुने गरेको बताइन्छ । साथै, जिल्लामा सञ्चालनमा रहेका अवैध क्रसर उद्योग, क्लिङ्कर बोकेका टिपर तथा अवैधरूपमा सञ्चालन भएका सवारी साधनसँग पनि ट्राफिक प्रहरीले असुली गर्ने गरेको गुनासो आउने गरेका छन् ।
चेकजाँचको नाममा धेरै स्थानमा अनावश्यक हस्तक्षेप गरिनुले नेपाल प्रहरी संगठनकै बदनाम भइरहेको देखिन्छ । यस सम्बन्धमा ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका कार्यवाहक प्रवक्ता प्रहरी निरीक्षक कमल क्षेत्रीले प्रदेश कार्यालयमा यस्ता गतिविधिबारे कुनै जानकारी नआएको बताए । उनले यस्ता कार्यमा संलग्न जो कोहीलाई कडा कारबाही गरिने स्पष्ट पारे ।
जेन्जी आन्दोलनपछि रुपन्देही ट्राफिकको कमान्ड प्रहरी निरीक्षक प्रतिमा कार्कीले सम्हाल्दै आएकी छन् ।












