
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने दाबी गरेका छन् ।
विशेष महाधिवेशनलाई लिएर विवाद चर्किँदै गएको बेला महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत काठमाडौंमा पुस २७ र २८ गते आह्वान गरिएको महाधिवेशनबाट पार्टी विभाजन हुने अवस्था आए सबैभन्दा पहिलो आफू हलबाट बाहिरिने बताएका हुन् ।
उनले लेखेका छन्, ‘विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन । यदि त्यस्तो हुन लागे अधिवेशनको हलबाट सबैभन्दा पहिला म बाहिर निस्कनेछु ।’
पत्रकार सम्मेलनमार्फत यही पुस २७ र २८ गते काठमाडौंमा दोस्रो विशेष महाधिवेशन आह्वान भइसकेको छ । त्यसमा शर्मा र अर्का महामन्त्री गगन थापाले सहभागी हुने घोषणा गरिसकेका छन् ।
कांग्रेसभित्र सभापति शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशन नगर्ने पक्षमा देखिएको छ भने महामन्त्रीद्वय थापा र शर्मा पक्षका नेताहरूले भने जेनजी आन्दोलनपछिको परिस्थितिमा विशेष महाधिवेशन अनिवार्य भएको दाबी गर्दै आएका छन् ।
विशेष महाधिवेशन माग्दै कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर अभियान चलाएका थिए । सो अभियानमा ४० प्रतिशतभन्दा बढीले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेकाले विधान अनुसार विशेष महाधिवेशन गर्नैपर्ने तर्क शर्माको छ ।












