
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि कांग्रेस उदयपुर विशेषको पक्षमा उभिएको छ ।
कांग्रेस उदयपुरले विज्ञप्ति जारी गर्दै जिल्लाका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा सहभागिताका लागि अनुरोध गरेको छ ।
‘कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा उपस्थिति र सक्रिय सहभागिताको लागि उदयपुर जिल्लाका सम्पूर्ण महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू साथै सम्पूर्ण तहमा रहनुभएका नेपाली कांग्रेसका अग्रज, साथीहरू एवम् शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछौं,’ जारर िविज्ञप्तिमा भनिएको छ ।
जिल्ला सभापति हिमाल कार्कीले महाधिवेशन प्रतिनिधिले विधिवत ढंगले माग गरेको विशेष महाधिवेशनलाई औपचारिक रुपमा सम्बोधन गरी विधि र पद्दतिलाई कार्यान्वयनतर्फ उन्मुख गराएको भन्दै महामन्त्रीद्वयप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
विशेष महाधिवेशन पक्षधरले २७–२८ पुसमा काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरिसकेको छ । महाधिवेशनका लागि विशेष पक्षधरले भुकुटीमण्डप ‘बुकिङ’ पनि गरिसकेको छ ।













