
काठमाडौं । नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी (म्यादी) को भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै इच्छुक योग्यता पुगेका उम्मेदवारलाई भर्ना प्रक्रियामा सहभागी हुन भनेको हो ।
निर्वाचन प्रहरीका लागि यही पुस २५ गतेदेखि आगामी माघ १ गतेसम्म ७७ वटै जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सकिने छ । दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति पाएको मितिले ४० दिन वा नेपाल सरकारले तोकेबमोजिम हुनेछ । निर्वाचनको अवधिका आधारमा निर्वाचन प्रहरीको कार्यअवधि हेरफेर भएमा सोहीअनुसार हुने छ ।
निर्वाचन प्रहरीले नेपाल प्रहरी जवानको सुरु तलब स्केलसरह प्रतिदिन आठ सय ६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनसम्मका लागि ३४ हजार ७७६ पाउनेछन् ।
निर्वाचन प्रहरीलाई सम्बन्धित जिल्लाको नेपाल प्रहरीले पाए सरहको दररेटअनुसार प्रतिनिर्वाचन प्रहरी ४० दिनको लागि खाद्यान्नबापतको रकम निजको व्यक्तिगत बैंक खातामा उपलब्ध गराइने केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए ।
उनका अनुसार निर्वाचनको क्रममा खटिने निर्वाचन प्रहरीलाई खटिएको ठाउँमा आउने र जाने तयारीस्वरुप प्रतिनिर्वाचन प्रहरी एक पटकको लागि एकमुष्ट आठ सय ४६ का दरले तयारी खर्च उपलब्ध गराइनेछ ।
प्रतिदिन प्रतिनिर्वाचन प्रहरी तीन सयको दरले चार दिनका लागि एकमुष्ट एक हजार २०० खाजा खर्च उपलब्ध हुनेछ । नेपाल प्रहरीको प्रधान कार्यालयबाट तोकिएबमोजिमको दररेटका आधारमा पोसाकबापतको रकमसमेत निर्वाचन प्रहरीले पाउनेछन् ।
कर्तव्य पालनको सिलसिलामा निर्वाचन प्रहरी घाइते भएमा निज स्वयमले र मृत्यु भएको खण्डमा निजको नजिकको हकदारले नेपाल सरकारबाट तोकिएबमोजिमको क्षतिपूर्ति प्राप्त गर्नेछन् ।












