काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकतामा असहमति जनाउँदै बाहिरिएको उज्यालो नेपाल पार्टी समानुपातिकतर्फको निर्वाचन प्रणालीमा सहभागी हुन नपाउने भएको छ । पार्टीले निर्वाचन आयोगमा छुट्टै बन्दसूची नबुझाएकाले समानुपातिकतर्फको निर्वाचन प्रणालीमा भाग लिन नपाउने भएको हो ।

बन्द सूची बुझाउने अन्तिम दिन गत पुस १४ रास्वपा र उज्यालो नेपाल पार्टीबीच सहमति भएपछि रास्वपाको तर्फबाट सूची बुझाएको थियो । अब समानुपातिकको बन्दसूची बुझाउने समय सकिइसकेको छ । अब उज्यालो नेपाल पार्टीको तर्फबाट प्रत्यक्षतर्फका मात्र उम्मेदवार हुनेछन् ।
अध्यक्ष कुलमान घिसिङले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने घोषणा पनि शनिवार गरिसकेका छन् । रास्वपाको तर्फबाट बुझाएको बन्दसूचीमा १४ जना उज्यालो नेपालतर्फका उम्मेदवार थिए ।
समानुपातिकतर्फको निर्वाचन प्रणालीमा घिसिङले सकेसम्म मिलाउने नसकेको खण्डमा प्रत्यक्षतर्फ मात्रै उम्मेदवार खडा गर्ने बताइसकेका छन् ।












