Logo
Logo

पार्टी कोमामा थियो, लयमा फर्काएकामा महामन्त्रीद्वयलाई सम्मान: चन्द


945
Shares

काठमाडौं । नेपाली कांग्रेसका बैतडी जिल्ला सभापति चतुरबहादुर चन्दले विशेष महाधिवेशनमार्फत समयअनुकूल पार्टीका समस्या समाधान गर्न सक्ने र देश तथा जनताको हितमा काम गर्ने नेतृत्व चयन गर्नुपर्ने बताएका छन् ।

The current image has no alternative text. The file name is: chatur-chand.jpg

काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै चन्दले पार्टीभित्र देखिएका समस्या समाधान गर्ने स्पष्ट नीति र परिवर्तित समयअनुसार अघि बढ्न सक्ने नेतृत्व आवश्यक रहेको धारणा राखे ।

विगत चार महिना नेपाली कांग्रेस कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै उनले पार्टीलाई पुनर्जीवित गर्न भूमिका खेल्ने सबैलाई सम्मान गर्नुपर्ने बताए । विशेषगरी पार्टीलाई पुनः लयमा फर्काउने अभियानमा योगदान दिएको भन्दै महामन्त्रीद्वयप्रति उनले सम्मान व्यक्त गरे ।

‘झन्डै चार महिना नेपाली कांग्रेस कोमामा थियो । कोमामा पुगेको कांग्रेसलाई वायु दिएर पुनर्जीवित गर्ने प्रयास गर्ने सबैलाई म सम्मान गर्न चाहन्छु,’ चन्दले भने, ‘इतिहासमा सधैं देशको अभिभावक भूमिका निर्वाह गर्दै आएको पार्टी पछिल्ला चार महिनामा लछारिएको थियो । त्यसलाई पुनः लयमा फर्काउने अभियानका अभियन्ता महामन्त्रीद्वयलाई विशेष सम्मान गर्न चाहन्छु ।’

चन्दले मुलुकले ठूलो परिवर्तन खोजिरहेको भए पनि अन्य दुई ठूला दल समयसापेक्ष रूपमा अघि बढ्न नसकेको आरोप लगाए। उनले देशलाई परिवर्तनको स्पष्ट दिशा दिन सक्ने शक्ति नेपाली कांग्रेस मात्र भएको दाबी गरे ।

‘देशले ठूलो परिवर्तन खोजेको छ, तर अन्य दुई ठूला दलहरूले परिवर्तनको आवाज दिन सकेनन्,’ उनले भने, ‘समयसापेक्ष रूपमा मुलुकलाई अगाडि बढाउन सक्ने क्षमता नेपाली कांग्रेससँग मात्रै छ भन्ने अठोटका साथ हामी यहाँ आएका छौं । यो विशेष महाधिवेशनले कांग्रेसभित्रका सबै विकृतिको अन्त्य गर्ने नीति पारित गरोस् र परिवर्तित समयअनुसार पार्टी तथा देशको हितमा काम गर्न सक्ने नेतृत्व चयन गरोस् ।’

प्रतिक्रिया दिनुहोस्