
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र आज हुँदैछ । आज बिहान ८ बजेदेखि १० बजेसम्म प्रतिनिधिको नाम दर्ता र खाजाको समय छुट्याएर १० बजे बन्दसत्र थालिने भएको हो ।
विशेष महाधिवेशन व्यवस्थापन उपसमितिका प्रचारप्रसार संयोजक सुवास पोखरेलका अनुसार बन्दसत्रले विशेष महाधिवेशनका लागि बनाएको कार्यविधि पारित गर्ने कार्यक्रम रहेको छ ।
बन्दसत्रबाट कार्यविधि पारित भएसँगै सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिको छुट्टाछुट्टै नौ समूह बनाएर नीति, नियम, विधान, राजनीतिक घटनाक्रमका बारेमा गहन छलफल हुनेछ ।
संस्थापक्ष पक्षको असहमतिका बाबजुद कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि कांग्रेसको दोस्रो विशेष महाधिवेशन भइरहेको हो ।
जहाँ बहुमत प्रतिनिधि सहभागी भइरहेका छन् । सभापति शेरबहादुर देउवाको पक्षमा रहेका नेताहरु समेत विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । यसले पार्टीभित्र परिवर्तनको स्पष्ट संकेत गरेको छ ।












