Logo
Logo

गगनलाई शंकरको जवाफ- ‘हामी दास होइनौँ, आजका स्पार्टाकस हौँ’


630
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लागे पनि ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्ने बताएका छन् ।

आइतबार विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेप्रति इंगित गर्दै कांग्रेस लास र दासहरूको पार्टी नभएको बताएका थिए । उनले भनेका थिए, ‘कांग्रेस दास र लासहरूको पार्टी होइन । कांग्रेस ज्युँदो मानिसहरूको पार्टी हो । यहाँ प्रश्न मरेको छैन ।’

गगन थापाको यही भनाइको जवाफ फर्काउँदै नेता पोखरेलले सामाजिक सञ्जालमार्फत देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लागे पनि ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘हो, देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लाग्न सक्छन् । तर ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्छन् । ती स्पार्टाकस—जसले स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर आधुनिक विश्वव्यवस्थाको नयाँ आधारशीला निर्माण गर्नेछन् ।’

विध्वंस, अराजकता र आतंकका सामु झुक्नु कायरता भएको भन्दै उनले त्यसका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु साहस भएको बताए । संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै संकटमा परेको बेला, जन–जनको हृदय जलिरहेको घडीमा उत्सव कसरी मनाउन सकिन्छ र भनेर उनले प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘भूराजनीतिक स्वार्थका सामु लम्पसार पर्नु दासता हो; त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमान हो ।’

प्रतिक्रिया दिनुहोस्