
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच आज वार्ता हुँदैछ । विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको टोलीले आज वार्ता गर्न लागेको हो ।
आज हुने वार्तामा विशेष पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी हुनेछन् । संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण सहभागी हुनेछन् । यद्यपी वार्ता समय र स्थान भने तय भइसकेको छैन ।
विशेष पक्षले सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षलाई बोलाए पनि उनीहरू भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा उपस्थित भएका छैनन् । कांग्रेसका ५१ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले तत्काल नीति र नेतृत्व परिवर्तनमा जोड दिएका छन् ।
संस्थापन पक्षले बेवास्ता गरे जारी विशेष महाधिवेशनबाट आजैदेखि निर्वाचन प्रक्रिया थाल्ने उनीहरूको चेतावनी छ । आजको संस्थापन र इतर पक्षको वार्तापछि विशेष महाधिवेशन कसरी अघि बढाउने भन्ने टुंगो लाग्ने नेताहरुले बताएका छन् ।












