काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तोकिएको मितिमा नै निर्वाचन हुने बताएका छन् ।

मङ्गलवार काठमाडौंमा पार्टी केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण समारोहमा बोल्दै उनले फागुन २१ मा निर्वाचन हुने बताउँदै पार्टीका नेता, कार्यकर्तालाई तयारीमा लाग्न निर्देशन दिए ।
नेपालले निर्वाचन समयमा हुँदैन कि भनेर चुप लागेर नबस्न पनि पार्टी, नेता कार्यकर्तालाई सचेत गराए । उनले निर्वाचनका लागि पार्टीले घोषणा पत्र निर्माणको काम शुरु गरेको र निर्वाचन परिचालनका लागि पार्टीका संयोजक पुष्पकमल दाहालको नेतृत्व छिट्टै परिचालन कमिटी घोषणा हुने जानकारी गराए ।
उनले निर्वाचन पार्टीका लागि अग्नि परीक्षा भएकाले त्यसलाई पार लगाउनका लागि सिङ्गो पार्टी पङ्क्ति एकतावद्ध भएर परिचालन हुन जरुरी रहेको समेत बताए । उनले भने, ‘चुनावमा हाम्रो अग्नि परीक्षा हुनेछ। यस बीचमा चुनाव हुन्छ भन्ने नै हामीलाई लागेको छ। त्यसकारण चुनाव हुँदैन कि भन्ने कुरा ठानेर चुप लागेर, पर्खेर बस्ने होइन। चुनावको तयारीमा पूरै जुट्ने हो। र, यसका लागि हामीले निर्वाचनको बारेमा चुनाव घोषणा पत्र बनाउन पनि कमिटी बनाइसकेका छौँ। त्यसको मस्यौदाको काम पनि अगाडि बढ्न थालिसकेको छ। त्यसैगरी निर्वाचन परिचालन गर्ने कमिटी पनि हामी बनाउन गइरहेका छौँ ।’












